संसदमा दर्ता भएको सामाजिक सञ्जालसम्बन्धी विधेयकले प्रेसको स्वतन्त्रता नियन्त्रण गर्छः अध्यक्ष दाहाल


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनका लागि संसदमा दर्ता भएको विधेयकप्रति आपत्ति जनाएका छन् ।

बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनका लागि भनेर संसदमा अहिले दर्ता भएको विधेयक आपत्तिजनक रहेको बताएका हुन् । उनले सामाजिक सञ्जाल नियमनका नाममा यसले नागरिकको संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको हकमात्र कुण्ठित पार्ने बताए ।

उनले प्रेसको स्वतन्त्रता पनि विधेयकले नियन्त्रण गर्ने बताए । विधेयकमा नागरिकलाई पाइलैपिच्छे जेल र जरिवनाको तरवार झुन्ड्याइएको बताए । अहिल्यै त नागरिकलाई बोलेकै कारण हतकडीमा जिल्ला घुमाइरहेको सरकारले भोलि यस्तो विधेयक पारित भए के गर्ला ? भन्दै प्रश्न गरे । उनले अहिले राजनीतिक प्रतिशोध र त्यसका लागि राज्यको दुरुपयोग सामान्य हुन थालेको बताए ।

अध्यक्ष दाहालले पाथीभरा र मुक्लुङको विवादको संवेदनशीलता बुझेर संवाद र समझदारीबाट समाधान खोज्नुपर्नेमा दमनको उल्टो बाटो किन हिँडेको ? भन्दै प्रश्न गरे ।