वैदेशिक काठ आयातलाई निरुत्साहित गर्नको लागि कार्ययोजना बनाउँदैछौँः वनमन्त्री ठकुरी


काठमाडाैँ । वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले वनभित्र रहेका काठहरु लिलाम गर्नको लागि कार्ययोजना बनाउन प्रदेश मन्त्रालयलाई आवश्यक निर्देशन दिइएको बताएका छन् ।

सोमवार प्रतिनिधि सभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री ठकुरीले वनभित्र रहेका काठहरु बजारमा ल्याउँदै उपभोक्तालाई सहज रुपमा उपलब्ध हुनेगरी प्रदेश मन्त्रालयहरुले काम गरिरहेको दाबी गरे । उनले वनभित्रको काठहरुको दिगोपन व्यवस्थापन गरी काठको आयातलाई निरुत्साहित गर्नेगरी काम गरिरहेको बताए ।

जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि समेत आवश्यक गृहकार्य भइरहेको उनकाे भनाइ छ । उनले कार्बन व्यापार गर्नको लागि नियमावली संशोधन अन्तिम मस्यौदा तयारी अवस्थामा रहेको समेत उल्लेख गरे ।

कार्बन व्यापारको लागि नीजि क्षेत्रसँग आवश्यक समन्वय र सहकार्य गरिने उनले उल्लेख गरे । उनले सामुदायिक वनको संरक्षणका लागि वन उपभोक्ता समूहहरुलाई आवश्यक सहयोग गरिरहेको समेत बताए । 

वन डढेलो नियन्त्रणको लागि समेत मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको उनले उल्लेख गरे । उनले वन डढेलो नियन्त्रण र पूर्वतयारी गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको बताए ।