संसदको कार्यसूचीबाट भ्रष्टाचार विधेयक हटाइएकोमा माओवादी केन्द्रको आपत्ति


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदको कार्यसूचिबाट भ्रष्टाचार निवारण विधेयक हटाएको भन्दै आपत्ति जनाएका छन् ।

मंगलवार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले सरकारले कार्यव्यवस्था परामर्श समितिकोले तोकेको कार्यसूची विपरित गएको भन्दै आपत्ति जनाएका हुन् । उनले सरकारले सरकारले संसदको मिनिमाइज र अपहेलना गरिरहेको आरोप समेत लगाए ।

उनले सरकारले जे जे भन्यो संसदले त्यही गर्ने हो कि जनताको प्रतिनिधि भएको यो संस्थाले बनाएका विषयवस्तु सरकारले पालना गर्नुपर्ने हो ? भन्दै प्रश्न समेत गरे । उनले सरकारले विधायन सम्बन्धी विधेयक प्रश्तुत गर्दा समेत संसदको अभ्यास र परम्परा मिचेको आरोप लगाए ।

मंगलवारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित भ्रष्टाचार निवारण ऐन सम्बन्धी संशोधन विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख थियो । तर अन्तिम समयमा आएर उक्त विधेयक कार्यसूचीबाट हटाएपछि प्रमुख प्रतिपक्षी दलले आपत्ति जनाएको हो ।