काठमाडाैँ । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालले टनकपुर बाँधबाट महाकाली नदीको पानी चाँडै पाउने बताएका छन् ।
‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिएर बिहीवार साँझ स्वदेश फर्किनुभएका उर्जामन्त्री खड्काले भारत भ्रमणका क्रममा टनकपुर बाँधमा चाँडै पानी छोड्ने विषयमा सहमति भएको बताएका हुन् । उनले सिंचाईतर्फ पञ्चेश्वर परियोजनालाई अगाडि बढाउनेबारेमा अन्तिम टुंगो लगाउने बारे छलफल भएको जानकारी दिए ।
उनले कोशीको विषयमा पनि केही छलफल भएको बताए । दुई देशबीचको सिंचाई ब्यबस्थापनको बैठक हुन नसकेको अबस्थालाई चिर्दै यही २२—२४ फेब्रुवरीमा छलफल गर्ने सहमति भएको बताए। दुई देशबिच संयुक्त लगानीमा बनेका ट्रान्समिसन लाइनको विषयमा ५०\५० प्रतिशत हुँदा निर्णयार्थ गर्नुपर्ने विषयमा दुविधा हुने भएको अवस्थालाई मध्यनजर गरेर नेपालकोतर्फ नेपालको ५१ प्रतिशत र भारतको ४९ प्रतिशत र भारततर्फ भारतको ५१ र नेपालको ४९ प्रतिशत सहमति भएको बताए ।
बंगलादेशतर्फ पनि ट्रान्समिसन लाइन बनाउने कुराको छलफल अघि बढेको मन्त्री खड्काको दाबी छ । अबका वर्षहरुमा कार्बन शुन्य उत्सर्जनको लक्ष्य लिएको र सोहीअनुसार कार्बन ब्यापारको रकम प्राप्त गर्ने बताए । मन्त्री खड्काले भारत भ्रमण उपलब्धिमुलक रहेको र दुई देशबीचका सम्बन्ध अझ प्रगाढ भएको बताए । उनले भारत भ्रमणका क्रममा तीन जना मन्त्रीहरुसँग भेट गरेको र ठूला आयोजना सम्पन्न गर्ने बारेमा छलफल सकारात्मक रहेको जानकारी दिए । उनले भारतीय उर्जामन्त्री मनोहरलाल खट्टर चाँडै नेपाल आउने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्