काठमाडाैँ । नेपाल डेरी एसोसिएसन कोशी प्रदेश अन्तर्गत धनकुटा जिल्ला कार्यसमितिले श्री आधारभूत बौद्धिक अपांग विद्यालय, उत्तरपानी धनकुटाका सम्पूर्ण विद्यार्थीहरूलाई पाठ्य सामग्रीसहित विभिन्न आवश्यक सामग्री वितरण गरेको छ।
एसोसिएसनले सातवटा प्रदेश, २३ जिल्ला र सातवटा स्थानीय तहमा आफ्नो संगठन विस्तार गरिसकेको छ। संगठनले मातहतका जिल्ला, प्रदेश, र स्थानीय कमिटीहरूलाई विद्यालय, आश्रम, तथा अस्पतालहरूमा दूध तथा दुग्ध पदार्थको महत्वबारे जानकारी गराउँदै यस्ता सामुदायिक सहयोगात्मक गतिविधिहरू सञ्चालन गर्न प्रोत्साहित गर्दै आएको छ।
हाल देशभर दूध तथा दुग्ध पदार्थको खपत घट्दा उत्पादनको स्टक बढेको भन्दै एसोसिएसनले स्वदेशी उत्पादनलाई प्राथमिकता दिन ‘मोही अभियान’ सञ्चालन गरिरहेको छ। यो अभियानबाट प्रेरित भएर एक दर्जनभन्दा बढी डेरी उद्योगहरूले मोहीलाई ब्रान्डिङ गरी बजारमा ल्याएका छन्।
नेपाल डेरी एसोसिएसनका कोशी प्रदेश अध्यक्ष गंगा बहादुर खड्काका अनुसार, एसोसिएसनले आफ्ना कार्यक्रमहरूमा अतिथिहरूलाई मायाको चिनोस्वरूप घ्यु, पुष्टकारी, खुवा, गुँदपाक जस्ता दुग्ध पदार्थ प्रदान गर्दै उपभोक्ताहरूलाई पनि कोसेलीका रूपमा यी उत्पादन प्रयोग गर्न आग्रह गरिरहेको छ।
एसोसिएसनका केन्द्रिय महासचिव हेमचन्द्र खनालले स्वदेशी दुग्ध उत्पादनको खपत प्रवर्द्धन गर्न यस्ता अभियानले उत्साह थपेको बताए। एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालका अनुसार, देशभरका सदस्यहरू सक्रिय रूपमा दुग्ध पदार्थको खपत वृद्धिका लागि विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेका छन्, जसले दुग्ध उद्योगमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।
प्रतिक्रिया दिनुहोस्