काठमाडौँ । नेपालकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिबारे भारतका उच्च अधिकारीहरूसँग निरन्तर समन्वय भइरहेको जानकारी गराएकी छन्।
फेसबुकमार्फत् उनले ओडिसाका उच्च शिक्षामन्त्री सूर्यबंशी सुरजसँग टेलिफोन संवाद भएको उल्लेख गर्दै मृत्युसम्बन्धी निष्पक्ष अनुसन्धान, दोषीमाथि कानुनी कारबाही तथा नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि आग्रह गरिएको बताइन्। मन्त्री सुरजले ओडिसा सरकारले घटनालाई गम्भीर रूपमा लिएको भन्दै उच्चस्तरीय छानबिन समिति गठन गरिएको जानकारी दिएका छन्। साथै, नेपाली विद्यार्थी तथा अभिभावकहरूका लागि अलग हटलाइन व्यवस्था गरिएको र घर फर्किएका विद्यार्थीहरूलाई होस्टलमा पुनः फर्काएर अध्ययन निरन्तरता दिन आवश्यक पहल गरिएको उनले बताएका छन्।
त्यसैगरी, कलेजमा विद्यार्थीमाथि दुव्र्यवहार गर्ने कर्मचारीलाई बर्खास्त गरी कानुनी प्रक्रिया अघि बढाइएको पनि जानकारी गराइएको छ। उनले नेपाल-भारत सम्बन्धलाई सुमधुर बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको देउवाले उल्लेख गरिन्।
परराष्ट्र मन्त्रालय र नयाँ दिल्लीस्थित नेपाली राजदूतावास विश्वविद्यालय प्रशासन तथा भारतीय सुरक्षा अधिकारीहरूसँग सम्पर्कमा रही समन्वय गरिरहेको परराष्ट्रमन्त्री देउवाले बताएकी छन्।
प्रतिक्रिया दिनुहोस्