काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ८, नवाली टोलमा स्थित नित्यनाथ सत्तलको पुनःनिर्माणको शिलान्यास गरिएको छ। शिलान्यास समारोहमा संघीय संसद सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापा, वडा अध्यक्ष आशामान संगत, सम्पदा तथा पर्यटन विभाग प्रमुख कुमारी राई र वडा सदस्यहरूले उपस्थित भएर सत्तलको ५ स्थानमा जग राखेर शिलान्यास गरेका छन्।
पुनःनिर्माणको लागि करबाहेक लगभग २ करोड २७ लाख रुपैयाँमा निर्माण सम्झौता भएको जानकारी दिइएको छ। शिलान्यासको अवसरमा पूर्वमन्त्री गगनकुमार थापाले काठमाडौँ महानगरपालिकाले सम्पदा संरक्षणको क्षेत्रमा गरेको प्रयासको प्रशंसा गर्दै भने, “अब महानगरपालिकाले जनसरोकारका काममा सरकारले महसुस नगरेको लगानीको अभाव महसुस गराएको छैन।” उनले स्थानीय बस्तीलाई पशुपतिसँग जोडेर लैजानुपर्ने कुरामा जोड पनि दिएका थिए।
नित्यनाथ सत्तलको पुनःनिर्माणलाई समाजिक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ। यस सत्तलको पहिलो तलामा पुस्तकालय, दोस्रो तलामा सामाजिक कार्य र भोजका लागि स्थान, र तेस्रो तलामा नित्यनाथको मन्दिर हुनेछ। परम्परागत वादन र गायन विषयमा शिक्षा लिन नित्यनाथको पूजा आवश्यक मानिन्छ र विशेषतः बिहीबारको पूजा महत्वपूर्ण मानिन्छ।
९० सालको भूकम्पले भत्काएको सत्तललाई २०३९ सालमा पुनःनिर्माण गरिएको थियो। अहिले यसलाई नेपाली परम्परागत शैलीमा पुनःनिर्माण गर्दै सांस्कृतिक धरोहरको रूपमा जोगाउने प्रयास गरिएको छ।
सम्पदा संरक्षणको अभियान अन्तर्गत काठमाडौँ महानगरपालिकाले विभिन्न अन्य सांस्कृतिक संरचनाहरूको पुनःनिर्माण र मर्मतका लागि पनि काम गरिरहेको छ। यस क्षेत्रका ४ वटा फल्चा, इना गणेश मन्दिर, स्वर्ण गणेश मन्दिर, र पशुपति क्षेत्रको नित्यनाथ मन्दिर पुनःनिर्माण गरिसकिएको छ।
सत्तलको पुनःनिर्माणले स्थानीय जनजीवनसँग जोडिएका सामाजिक र सांस्कृतिक गतिविधिहरूलाई पुनर्जीवित गर्ने अपेक्षासमेत छ।
प्रतिक्रिया दिनुहोस्