निर्माण व्यवसायीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन महासंघको माग


काठमाडाैँ । निर्माण व्यवसायीहरूको सुरक्षाका विषयमा सरकार अझै गम्भीर नभएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । निर्माण व्यवसायीहरूको सुरक्षाका बारेमा मुलुकका सरोकारवाला सबै निकायलाई बारम्बार आग्रह गर्दै आए तापनि निर्माण व्यवसायीहरूमाथिको भौतिक आक्रमणका घटनामा कुनै कमी नआएको महासंघको भनाइ छ ।

एकदुम्जा-मरिनखोला-कपिलकोट-लालबन्दी सडक, सिन्धुलीको निर्माण कार्यस्थलमा श्रीजयन्ती-विरुवा-ड्रागन जे.भीका आधिकारिक प्रतिनिधि उपेन्द्र कोइरालामाथि अज्ञात समूहबाट हातहतियार सहित आक्रमण गरी सख्त घाइते बनाइएको महासंघले जनाएको छ ।

महासंघका महासचिव रोशन दाहालले आइतवार विज्ञप्ति जारी गरी घटनाको कडा शब्दमा भत्सर्ना गर्दै घटनाप्रति खेद समेत व्यक्त गर्नु भएको छ । उक्त आक्रमणमा संलग्नलाई तत्काल कानूनी कठघरामा ल्याई कार्वाही गरी, पीडितलाई क्षतिपूर्ति दिन तथा देशभरका निर्माण व्यवसायीहरू सहित उनीहरूका उपकरणको समेत सुरक्षाको पूर्ण व्यवस्था मिलाउन महासंघले नेपाल सरकार समक्ष जोडदार माग गरेको छ ।

निर्माण व्यवसायीहरूमाथि हुने यस किसिमका दण्डनीय अपराधमा संलग्नलाई कार्वाही नगरिए देशभरका निर्माण कार्य ठप्प पारी पेशागत सुरक्षाका लागि महासंघ आन्दोलनमा उत्रन बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।