काठमाडाैँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले त्रिपुरेश्वरमा बसभित्रै चालकको आत्मदाहको घटनाले राज्यको सुरक्षा संयन्त्र र यातायात व्यवसायीको कार्यशैलीमाथि गम्भीर प्रश्न खडा गरेको बताएकी छिन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा सचेतक धितालले चालक अर्जुन दोङको निधनप्रति दुःख व्यक्त गर्दै प्रहरीको ‘पोलिसिङ’ शैली र चालकहरूको मनोसामाजिक स्वास्थ्यलाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
सचेतक धितालले त्रिपुरेश्वर क्षेत्रमै यसअघि घटेको गणेश नेपालीको आत्मदाह र हालैको अर्जुन दोङको घटनाले सडक सुरक्षाको पाटोलाई थप संवेदनशील बनाएको बताइन् । ढकालले प्रहरीले चालक र नागरिकसँग गर्ने व्यवहारबारे प्रश्न उठाइन् ।
उनले भनिन्, “आत्महत्या वा आत्मदाहलाई महिमामण्डन गर्ने मेरो उद्देश्य होइन, तर यी दुई घटनाले हाम्रो सडक सुशासन र प्रहरीको व्यवहारमा सुधारको आवश्यकतालाई स्पष्ट संकेत गरेका छन् । वर्दी लगाएका राष्ट्रसेवकहरूप्रति उच्च सम्मान छ, तर सडकमा चालकसँग गरिने व्यवहार वा पोलिसिङ गर्ने शैलीमा कतै गम्भीर समस्या त छैन ? यदि तालिममा खोट छ भने त्यसलाई तत्काल बदल्नुपर्छ, अन्यथा यस्ता दुःखद् घटनाको सिलसिला रोकिने छैन । हजारौं यात्रुको जीवन बोकेर हिँड्ने चालकहरूको आत्मसम्मान, तलब–सुविधा, कामको घण्टा र मानसिक स्वास्थ्यमा राज्यको ध्यान पुगेको छ त ? न्युन तलब र अपमानजनक व्यवहारले उनीहरूमा मानसिक विचलन आउनु स्वभाविक छ । केवल चालकलाई दोष थोपरेर समस्याको समाधान निस्कँदैन ।”
मनोसामाजिक क्षेत्रको विज्ञतासमेत रहेकी धितालले चालकको जीवनमा जोडिएका आर्थिक र मानसिक पक्षलाई राज्य र व्यवसायीले बेवास्ता गर्दा यस्ता परिणाम आउन सक्नेतर्फ सचेत गराइन्।
उनले सरकार, यातायात व्यवसायी र ट्राफिक प्रहरीलाई आ–आफ्नो कार्यशैलीबारे निर्मम समीक्षा गर्न आग्रह गरिन् । उनले मृतक अर्जुन दोङ र गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै यस्ता घटना दोहोरिन नदिन ठोस नीतिगत सुधारको माग गरिन् ।


प्रतिक्रिया दिनुहोस्