‘गोल्ड कार्ड’ भिसा बाँड्ने ट्रम्पको घोषणा, मूल्य ५० लाख डलर


काठमाडाैँ । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले विदेशी लगानीकर्ताहरूका लागि रहेको भिसा कार्यक्रम इबी-५ लाई हटाएर यसको सट्टा ५० लाख डलरमा खरिद गर्न सकिने ‘गोल्ड कार्ड’ योजना ल्याउने बताएका छन्।

मंगलवार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इबी-५ कार्यक्रम अन्त्य गरी नयाँ ‘गोल्ड कार्ड’ कार्यक्रम ल्याउने घोषणा गरेका हुन्। उनका अनुसार यस योजनाले अमेरिकी ग्रीन कार्डजस्तै सुविधा दिनेछ साथै अमेरिकी नागरिकता प्राप्त गर्ने मार्गसमेत खोल्नेछ।

“हामी अब गोल्ड कार्ड बेच्दैछौँ। यसको मूल्य ५० लाख डलर हुनेछ,” ट्रम्पले भने, “यसका माध्यमबाट धनी व्यक्तिहरू हाम्रो देशमा आउन पाउनेछन्।”

ट्रम्पले थपे, “यस योजनासम्बन्धी विस्तृत विवरण दुई हप्ताभित्र सार्वजनिक गरिनेछ।” इबी-५ इमिग्रान्ट इनभेष्टर कार्यक्रम सन् १९९० मा अमेरिकी कंग्रेसले सुरू गरेको थियो। यो कार्यक्रमले अमेरिकी अर्थतन्त्रलाई विदेशी लगानी र रोजगारी सिर्जना गरेर प्रवर्द्धन गर्ने लक्ष्य लिएको थियो।

अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले इबी-५ कार्यक्रमलाई “ठगीपूर्ण” भन्दै ट्रम्प प्रशासनले त्यसलाई अन्त्य गर्न लागेको बताए। उनले भने, “इबी-५ कार्यक्रम धेरै झुठा कथाहरू र ठगीले भरिएको थियो। यो एक सस्तो मूल्यमा ग्रीन कार्ड पाउने तरिका मात्र थियो। त्यसैले राष्ट्रपति ट्रम्पले इबी-५ लाई अन्त्य गरी नयाँ ‘ट्रम्प गोल्ड कार्ड’ ल्याउने निर्णय गर्नुभएको हो।”

एजेन्सीकाे सहयाेगमा