काठमाडाैँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको नवनियुक्त प्रशिक्षक म्याट रसले यसै वर्ष हुने साफ च्याम्पियनसिप जित्ने लक्ष्य रहेको बताएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आईतवारदेखि लागू हुनेगरी अस्ट्रेलियन प्रशिक्षक म्याट रसलाई एक वर्षका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो । एन्फाले सोमवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना गरेको पत्रकार सम्मेलनमा अस्ट्रेलियन प्रशिक्षक म्याटले यसै वर्ष हुने साफ च्याम्पियनसिप जित्ने लक्ष्य रहेको बताएका हुन् ।
उनले एशियन कप क्वालिफायरमा राम्रो नतिजा दिलाउन प्रयास गर्ने आशा व्यक्त गरेका छन् । नेपाली फुटबल टोलीमा क्षमतावान् खेलाडी रहेको र महिला टोलीमा पनि क्षमतावान् खेलाडी रहेको प्रशिक्षक म्याटको भनाइ छ । व्यक्तिगत रूपमा केही खेलाडीमा उत्कृष्ट क्लास रहेको उनले बताए ।
अनभुवी प्रशिक्षकले केही देशहरूलाई विश्व फुटबलमा उत्कृष्ट टिम दिएको स्मरण गर्दै उनले तीमध्ये एक आइसल्यान्ड रहेको उल्लेख गरे । फुटबल विकास गर्न तल्लो तहदेखि खेलाडी र प्रशिक्षकको प्रशिक्षक अगाडि बढाउनुपर्ने उनको धारणा छ । प्रशिक्षक म्याटले आफू नेपाली टोलीसँग काम गर्न उत्साहित रहेको उल्लेख गर्दै केही खेलाडीलाई केपी ओली कप र झापाको फुटबल प्रतियोगितामा हेरेको बताएका छन् । ती खेलाडी र कोचिङ स्टाफसँग काम गर्न आफू उत्साहित रहेको पनि उनले उल्लेख गरे । उनीहरूसँग मिलेर सफलता प्राप्त गर्ने उनको भनाइ छ ।
उनले सफलताका लागि धेरै चुनौती रहे पनि चुनौती लिन नै आफूलाई मनपर्ने र त्यसैले पनि प्रशिक्षक बनेको धारणा व्यक्त गरेका छन् । साथै उनले अस्ट्रेलियामा रहेर सेमि प्रोफेसनल फुटबल खेलिरहेका खेलाडीका लागि सदैव ढोका खुला रहेको पनि बताए ।
अस्ट्रेलियन प्रशिक्षक म्याटले राम्रो टोली बनाउनका लागि राम्रा खेलाडीका लागि ढोका खुला रहेको उल्लेख गर्दै आफू दीर्घकालिन लक्ष्य लिएर आएको धारणा राखेका छन् । उनले नेपाली यु–२० मा पनि उत्कृष्ट खेलाडी रहेको र उनीहरूलाई कुनै पनि हालत गुमाउन नचाहने पनि उल्लेख गरे ।
नेपालमा फुटबलप्रतिको क्रेज र जोश अविश्वसनीय रहेको र ती जोशलाई एक बनाएर नेपाली फुटबललाई नयाँ उचाइमा पु¥याउने आफ्नो प्रमुख जिम्मेवारी हुने बताएका छन् । म्यानमारसँग नेपाली महिला टोलीको खेल हेरेको र खेल मैदानको वातावरण धेरै उत्साहजनक रहेको उल्लेख गरे ।
आफ्नो प्रमुख जिम्मेवारी नै फुटबलप्रति नेपालीको जोशलाई एकठाउँमा ल्याएर नेपाली फुटबललाई नयाँ उचाइमा पु¥याउनु हुने उनको विश्वास छ । उनले बलियो टोली निर्माण गर्दै आम मानिससम्म त्यसलाई जोड्न प्रयास गर्ने बताएका छन् । आफूले विभिन्न देशको टोली र क्लब गरी करिब २० वर्ष फुटबल प्रशिक्षण गराएको पनि उनले उल्लेख गरेका छन् । प्रशिक्षक म्याटले सफलता प्राप्त गर्नका लागि नेपाली टोलीमा राम्रो वातावरण सिर्जना गर्ने पनि विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्