काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३० ले ४३७ जना वरिष्ठ ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । आज नारायण चौरमा आयोजित कार्यक्रममा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले सम्मान पत्र र वडाध्यक्ष दलबहादुर कार्कीले रुद्राक्षको माला प्रदान गर्दै सम्मान गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख डंगोलले ज्येष्ठ नागरिकको योगदानलाई कदर गर्दै महानगरले सम्मान गर्दै जाने बताइन् । “अहिलेको सक्रियता हेर्दा उहाँहरुले आफ्नो उर्जाशील उमेरमा सामाजिक, आर्थिक, शैक्षिक, प्राविधिकलगायतका क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलेको स्पष्ट देखिन्छ,” उनले भनिन् ।
सम्मानपछि ज्येष्ठ नागरिकहरूले आफूहरूको योगदानलाई सम्झना गर्नेहरुले नै देश बनाउन सक्ने धारणा व्यक्त गरे । वडामा सामाजिक सुरक्षा भत्ता तथा पोषण भत्ता लिने ४१२ जना ज्येष्ठ नागरिक छन् । सरकारले ६८ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई मासिक ४ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता तथा महानगरपालिकाले थप मासिक १ हजार रुपैयाँ पोषण भत्ता उपलब्ध गराउँदै आएको छ । सम्मानित व्यक्तिहरूमध्ये ९८ वर्षीया महिला सबैभन्दा ज्येष्ठ थिए ।
प्रतिक्रिया दिनुहोस्