पर्यटनमन्त्री पाण्डेलाई जर्मनीमा ‘टुरिज्म मिनिस्टर अफ द एयर’ अवार्ड


काठमाडौँ। जर्मनीको बर्लिनमा आयोजित विश्वकै ठूलो इन्टरनेशनल टुरिजम बोर्स (आईटीबी) बर्लिन २०२५ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई वर्षको उत्कृष्ट पर्यटनमन्त्री (टुरिज्म मिनिस्टर अफ दी एयर) अवार्ड प्रदान गरिएको छ।

पर्यटनसँग सम्बद्ध विश्वभरका पाँच हजारभन्दा बढी स्टलहरू र सयौं सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको ‘वल्र्ड टुरिज्म एण्ड एभिएसन समिट–२०२५’ को अवसरमा मन्त्री पाण्डेलाई हिमालयन क्षेत्रबाट ‘टुरिज्म मिनिस्टर अफ द एयर’ अवार्ड प्रदान गरिएको हो। यो अवार्ड पाउने पाण्डे नेपालका पहिलो पर्यटनमन्त्री बनेका छन्।

सो कार्यक्रम बर्लिनमा प्यासिफिक एरिया ट्राभल राइटर्स एसोसिएसन (पाटवा) ले आयोजना गरेको थियो। छोटो समयमा नेपालको पर्यटन क्षेत्रमा नीतिगत सुधार, सरकारको उत्कृष्ट कार्यसम्पादन तथा पर्यटन ऐन तर्जुमा लगायतका काम गरेबापत पाण्डेलाई यो अवार्ड प्रदान गरिएको हो। सन् १९९९ देखि आईटीबी बर्लिनको वार्षिक समारोहमा प्रदान गरिँदै आएको यो अवार्ड पर्यटन क्षेत्रमा विशेष योगदान पुर्‍याउने मुलुकका पर्यटनमन्त्रीलाई दिइने गरिन्छ।

बर्लिनमा सहभागी पर्यटन व्यवसायीहरूले यो अवार्ड नेपालका लागि ऐतिहासिक रूपमा महत्वपूर्ण भएको प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार नेपाल सरकारको पर्यटन प्रवद्र्धनका लागि अवलम्बन गरिएका नीति तथा योजनाहरूले अन्तर्राष्ट्रिय मान्यता पाएको संकेत स्वरूप यो अवार्ड प्राप्त भएको हो।

अवार्ड ग्रहण गरेपछि मन्त्री पाण्डेले यस उपलब्धिलाई व्यक्तिगत भन्दा पनि नेपालको पर्यटन क्षेत्रकै सम्मानका रूपमा लिनुपर्ने बताए। उनले भने, “पाटवाबाट यो प्रतिष्ठित अवार्ड ग्रहण गर्न पाउनु खुसीको कुरा हो। यो मेरो मात्र होइन, नेपालको पर्यटन क्षेत्र र यसलाई विश्वस्तरमा स्थापित गर्न अहोरात्र मिहिनेत गरिरहेका सम्पूर्ण सरोकारवाला निकायहरूको सम्मान हो। नेपालको पर्यटन सधैं नवप्रवर्तन, सामुदायिक सहभागिता र दृढताका आधारमा अघि बढ्दै आएको छ। यो अवार्डले हामीलाई अझ दिगो र समावेशी पर्यटनका क्षेत्रमा थप काम गर्न प्रेरित गरेको छ।”

उनले प्रविधिको विकाससँगै आएको आर्टिफिसियल इन्टेलिजेन्सले पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान गरिरहेको उल्लेख गर्दै भने, “प्रविधिलाई समुदाय-सञ्चालित पर्यटनसँग सन्तुलनमा राख्दै नेपालको मौलिकता जोगाउनु हाम्रो मुख्य लक्ष्य हुनेछ।” साथै, पर्यटनलाई समुदायमैत्री बनाउने, वातावरणमैत्री आतिथ्य अभ्यासलाई प्रवद्र्धन गर्ने र हरित पूर्वाधारमा लगानी बढाउने विषयमा समेत उनले जोड दिए।

यसअघि मन्त्री पाण्डेले ‘आईटीबी मिनिस्टर्स समिट–२०२५’ मा सहभागिता जनाएका थिए। ‘लगानी वृद्धि, शान्ति सुनिश्चितता: विकासको उपयोग, भविष्य निर्माण’ विषयक उक्त सम्मेलनमा उनले नेपालमा पर्यटन क्षेत्रलाई दिगो रूपमा अघि बढाउने रणनीति प्रस्तुत गरेका थिए।