इफाप्का नेपालमा विकास निर्माणका कामहरुको प्रभावकारिता बढाउने कडी हुनुपर्छः अध्यक्ष सिंह


काठमाडौँ। निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नेपालमा विकास निर्माणका कामहरुको प्रभावकारिता बढाउन निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय छाता संस्था एशियाली र पश्चिमी प्रशान्त ठेकेदार संघको अन्तर्राष्ट्रिय महासंघ (इफाप्का) को मञ्च प्रयोग गर्न जरुरी रहेको बताएका छन् ।

शुक्रवार काठमाडौं आयोजित इफाप्काका अध्यक्षसहितका प्रतिनिधिसँगको भेटपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै अध्यक्ष सिंहले इफाप्काको आउँदो कन्फ्रेन्सबाट नेपालको पहिचान अन्तर्राष्ट्रिय रुपमा बढाउन सकिने बताएका हुन्।

उनले इफाप्काको सहयोग नेपालले महासंघका अन्य सदस्य राष्ट्रहरुबाट सहयोग लिन र आफूसँग भएको सहयोग दिने कडीको रुपमा स्थापित हुनसक्ने विश्वास लिए।

उनले भने, “‘एशियाली तथा पश्चिमी प्रशान्त ठेकेदार संघहरूको अन्तर्राष्ट्रिय महासंघबाट हामीले लिनसक्ने फाइदा भनेको अन्तर्राष्ट्रियस्तरमा नेपाललाई पहिचान बढाउने र नेपालमा भएका समस्याहरुलाई संसारभरी पु-याउनका लागि पनि यस महासंघको माध्यमबाट सम्भव हुन्छ ।”

सिंगापुरमा हुने इफाप्काको कन्फ्रेन्सको लागि निम्ता दिन निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय छाता संस्था एशियाली र पश्चिमी प्रशान्त ठेकेदार संघको अन्तर्राष्ट्रिय महासंघका प्रतिनिधिहरु नेपाल आएका हुन्।

—न्युज एजेन्सी नेपाल