काठमाडाैँ । नेपाल ट्रेड युनियन काँग्रेस (एनटीयुसी) ले सर्वोच्च अदालतले वित्तीय क्षेत्रमा श्रम ऐन लागू नहुने भनेर गरेको निर्णयप्रति आपत्ति जनाएको छ ।
नेपाल ट्रेड युनियन काँग्रेसको फागुन २१ र २२ गते भएको राष्ट्रिय परिषद बैठकले गरेको विभिन्न निर्णय जानकारी दिन आईतवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाल ट्रेड युनियन काँग्रेस (एनटीयुसी) का अध्यक्ष योगेन्द्र कुँवरले श्रम क्षेत्रका अत्यावश्यक सेवा तथा विशेष ऐनद्वारा सञ्चालित क्षेत्रमा श्रम ऐन लागू नहुने सर्वोच्च अदालतको निर्णय अदालतको सम्मान गर्दै अस्वीकार गरिएको बताएका हुन् ।
उनले सर्वोच्चले गरेको फैसला सच्याएर संशोधन गर्नुपर्ने बताए । उनले सर्वोच्चको निर्णयमा नेपालको ट्रेड युनियन आन्दोलनलाई कमजोर बनाउने तथा श्रम अधिकार खोस्ने नियत रहेको दाबी गरे । अध्यक्ष कुँवरले महँगी तथा मुद्रा स्फितिका आधारमा नेपाल राष्ट्र बैंकले गरेको प्रक्षेपणका आधारमा न्युनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने बताए । न्युनतम परिश्रमिक निर्धारणका लागि निरन्तर अध्ययन, छलफल र अनुसन्धान हुनुपर्ने उनको भनाइ छ । निर्धारित पारिश्रमिक सबै क्षेत्रमा अनिवार्य रुपमा लागू हुनुपर्ने उनको भनाइ छ ।
अध्यक्ष कुँवरले फागुन २१ र २२ गतेको बैठकमा संविधानले सुनिश्चित गरेको समावेशीका आधारमा राज्यको निकायमा सहभागिताबारे वकालत गर्ने, संविधानमा श्रमिकको छुट्टै क्लस्टर बनाउने व्यवस्थाका लागि राजनीतिक दल तथा सरकारको ध्यानाकर्षण गराउने, संगठन निर्माणका लागि देशभर अभियान सञ्चालन गर्नेलगायतका विशेष प्रश्ताव पेश गरेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्