रोजगारी अभिवृद्धिको विषय सबै राजनीतिक दलको साझा मुद्दा बन्नुपर्छः महामन्त्री शर्मा


काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनसरोकारका विषयलाई राजनीतिक दलहरूले साझा विषय बनाउनुपर्नेमा जोड दिएका छन् ।

आइतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा नेपाली काँग्रेसले ‘राजनीतिक विमर्शको केन्द्रमा रोजगार–सरकारको प्राथमिकतामा रोजगार’ भन्ने लक्ष्यका साथ सुरू गरेको ‘मिसन रोजगारी’ अभियानको शुभारम्भ गर्दै उनले राजनीतिक दलहरुले राजनीतिक विषयहरु बाहेक नागरिकलाई छुने विषयलाई साझा मुद्दा बनाउनुपर्ने बताएका हुन् ।

उनले जलवायु परिवर्तन, जलवायु उत्पादन र व्यापार, पूर्वाधार निर्माणमा गति दिने कुराहरू सबै राजनीतिक दलहरुको साझा विषय बन्नुपर्ने बताए । रोजगारी अभिवृद्धि गर्ने विषय ज्वलन्त साझा विषय हुनुपर्ने र यसको नेतृत्व काँग्रेसले गर्नुपर्ने बताए ।

“राजनीतिक दलहरूले गर्ने बहस, दलहरुको कर्म, दलहरुको एजेण्डा, दलहरुको प्रतिष्पर्धाको विषय अब राजनीतिक विषय जति छन् त्यसको अलवा, जनसरोकारको विषय, नागरिकलाई छुने विषयहरुमा जानुपर्छ । जलवायु परिवर्तनको विषय होस् वा जलविद्युत उत्पादन र व्यापारको विषय साझा विषय हो । सुशासन दिनुपर्ने दायित्वको विषय साझा विषय हो,” उनले भने ।

महामन्त्री शर्माले पुरानो बाटो हिँडेर नयाँ गन्तव्यमा पुग्न नसकिने उल्लेख गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको बाटोबाट नै अहिलेका समस्या समाधान गर्न सकिने बताए ।