काठमाडाैँ । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजावादी सक्रिय हुनुको पछाडि सरकारको शासकीय शैली र त्यसबाट उत्पन्न भएको असन्तोष रहेको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राजावादीहरू सक्रिय हुनुको पछाडि संगठित प्रयास रहेको आशंका व्यक्त गरेका हुन् । उनले व्यवस्था उल्ट्याउनका लागि देशभित्र र देशबाहिरका चलखेलहरू समेत मिसिएको बताए ।
उनले नेपालमा शान्ती प्रक्रिया मात्र नभई गणतन्त्रणको इतिहास समेत मौलिक र उदार रहेको बताए । “राजावादीका पछि संगठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ । यसमा देशभित्र र देश बाहिरका चलखेल पनि मिसिएका छन् । तर यस खालका चलखेल आजमात्र भएका होइनन् । नेपालमा यस्ता खालका चलखेलहरू हिजो पनि थिए, अस्ति पनि थिए । तर अहिले किन वृद्धि भयो मुख्यतः प्रश्न यहाँनिर रहेको छ । पछिल्लो आठ महिनामा सत्तामा रहेका पार्टीहरूले प्रदर्शन गरेका शासकीय शैली र त्यसबाट उत्पन्न असन्तोष नै यसको मुल कारण हो भनेर बुझ्न अब कठिनाई छैन,”उनले भने ।
उनले पूर्वराजाको सुरक्षासहित ल्याइएको गणतन्त्रमाथि प्रहार गर्न खोजिए अबको क्रान्ती निकै निर्मम हुने समेत चेतावनी दिए ।
प्रतिक्रिया दिनुहोस्