श्रम शक्ति व्यवस्थित गर्न पुँजी बजार चलायमान हुनु आवश्यक छः उद्योगमन्त्री भण्डारी


काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पुँजी बजार चलायमान नभएसम्म श्रम शक्ति व्यवस्थित हुन नसक्ने बताएका छन् ।

सोमवार काठमाडौँमा आयोजित श्रम तथा रोजगार सम्मेलनलाई सम्बोधन गर्दै उनले राष्ट्रिय उत्पादनको १३ प्रतिशत हिस्सा ओगटेको कृषिमा आधारित अर्थतन्त्रको उत्पादकत्व पाँच प्रतिशतमा घटेको बताएका हुन् ।

उनले उद्योगमा लगानी गर्न कठिन र जोखिम भएको भन्दै हिजोका दिनमा नेपालको ब्राण्डको रुपमा स्थापित पश्मिना, गार्मेन्ट, गलैँचा लगायतका उद्योगहरू बन्द भएको बताए । छिमेकी मुलुकले लगानी गरेका जुट मिललगायतका संस्थाहरु धराशायी हुनुको कारण खोज्नुपर्ने उनको भनाइ छ ।

मन्त्री मण्डारीले उद्योग र उद्यमशीलताका बारेमा सरकारले गरेको नीतिगत सुधारले आशा जगाएको बताए । उनले रोजगारी ग्यारेन्टी गर्ने तथा उद्यम र उद्यमशीलतालाई प्रोत्साहन गर्ने खालको विषय आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिने बताए । उनले बेरोजगारीका कारण युवामा देखिएको निराशालाई आशामा बदल्ने गरी सरकारले गरेको नीतिगत सुधारलाई निजी क्षेत्रले स्वागत गरेको दाबी गरे ।

मन्त्री भण्डारीले नेपालको पुँजी बजार, श्रम बजारसँगको नेपालको उत्पादन र नेपालको रोजगारीलाई जोड्नसके आन्तरिक रोजगारीका प्रश्नलाई समाधान गर्न सकिने बताए ।