चालू खाता एक खर्ब ६६ अर्ब ८० करोड रुपैयाँले बचतमा


काठमाडौँ । चालू खाता एक खर्ब ६६ अर्ब ८० करोड रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को सात महिनाको तथ्यांक अनुसार नेपालको चालू खाता एक खर्ब ६६ अर्ब ८० करोड रुपैयाँले बचतमा रहेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ६२ अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब २२ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब २४ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ५ अर्ब ८३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३ अर्ब ८० करोड रुपैयाँ रहेको थियो । यसैगरी, समीक्षा अवधिमा ७ अर्ब ४५ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटिमात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) ५ अर्ब १९ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति २ खर्ब ८४ अर्ब ४१ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २४ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ११ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।