नेपालको कुल विदेशी विनिमय सञ्चिती २३ खर्ब ६९ अर्ब ८ करोड रुपैयाँ पुग्यो


काठमाडौँ । २०८१ माघ मसान्तसम्म नेपालको कुल विदेशी विनिमय सञ्चिती २३ खर्ब ६९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।

२०८१ असार मसान्तमा २० अर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.१ प्रतिशतले वृद्धि भएर २०८१ माघ मसान्तमा २३ खर्ब ६९ अर्ब ८ करोड रुपैयाँ पुगेको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ माघ मसान्तमा ११.७ प्रतिशतले वृद्धि भई १७ अर्ब ५ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८१ माघ मसान्तमा १३.९ प्रतिशतले वृद्धि भएर २१ खर्ब ५ अर्ब १४ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८१ माघ मसान्तमा ३७.१ प्रतिशतले वद्धि भई २ खर्ब ६३ अर्ब ९३ करोड रुपैयाँ कायम भएको छ । २०८१ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।