विवरण नबुझाउने सहकारीमाथि कारबाही गर्ने काठमाडौँ महानगरको चेतावनी


काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्र सञ्चालित सहकारी संस्थाहरूलाई कानुनी व्यवस्थाबमोजिम विवरण बुझाउन आग्रह गर्दै, तोकिएको समयभित्र वार्षिक प्रतिवेदन नबुझाए कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।

महानगरपालिकाले आज एक सूचना जारी गर्दै सहकारी संस्थाहरूलाई काठमाडौँ महानगरपालिका सहकारी ऐन, २०७४ अनुसार हरेक आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र वार्षिक साधारण सभा सम्पन्न गरी त्यसको पन्ध्र दिनभित्र महानगरपालिकामा प्रतिवेदन बुझाउनुपर्ने प्रावधान स्मरण गराएको छ। तथापि, हालसम्म केही सहकारी संस्थाहरूले आर्थिक वर्ष २०८०\८१ सम्मको लेखा परीक्षण प्रतिवेदन, साधारण सभाको निर्णय तथा वार्षिक प्रतिवेदन पेश नगरेको पाइएको भन्दै ती संस्थाहरूलाई तत्काल प्रतिवेदन बुझाउन आग्रह गरिएको छ।

महानगरपालिकाले दुई आर्थिक वर्षसम्म साधारण सभा नगरी विवरण नबुझाउने सहकारी संस्थाहरुलाई निष्क्रिय ठहर गरी खारेज गर्ने प्रक्रियासमेत अघि बढाइने चेतावनी दिएको छ। सहकारी ऐन, २०७४ को दफा ६६(३) अनुसार निष्क्रिय सहकारी संस्थाहरूको विवरण सार्वजनिक गर्ने र कानुनी कारबाही अघि बढाउने तयारी रहेको सूचनामा उल्लेख गरिएको छ।

साथै, सहकारी ऐनको परिच्छेद १६ अन्तर्गत महानगरपालिकाले सहकारी संस्थाहरूको अनुगमन गर्नसक्ने प्रावधान रहेको भन्दै नियामक टोलीको निरीक्षणका क्रममा आवश्यक सहयोग उपलब्ध गराउन अनुरोध गरिएको छ।

महानगरपालिकाले सहकारी संस्थाहरूलाई कानुनी दायित्व पूरा गर्न सचेत गराउँदै, सहकारीको पारदर्शिता र विश्वसनीयता कायम राख्न समयमै प्रतिवेदन बुझाउन आग्रह गरेको छ।