भन्सार जाँच पासपछि अनुसन्धान नाममा व्यवसायीलाई दुःख नदिन सांसदहरूको जोड


काठमाडाैँ । नाकाहरूमा भन्सार जाँचपासपछि पनि अनुसन्धान विभिन्न नाममा मालसमान ल्याउन व्यवसायीहरूलाई दुःख दिने गरिएको भन्दै यसलाई रोक्न सांसदहरूले माग गरेका छन् । 

बुधवारको अर्थ समिति बैठकमा भन्सार विधेयकमाथिको छलफलमा भाग लिने सांसदहरूले अनुसन्धानका नाममा मालबहाक गाडीहरुलाई गन्त्व्यसम्म जान नदिने पद्धतिको अन्त्य हुनुपर्ने बताएका हुन् । अर्थ समिति सभापति सन्तोष चालिसेले सरकारी संयन्त्रहरुले बाटोमै दुःख दिने पद्धति ठिक नभएको बताए । 

“भन्सार ऐनमा गलत गर्नेलाई नियन्त्रणमा लिने व्यवस्था हुन्छ नै । तर धेरै व्यापारीहरुले बाटोमै तीन दिनसम्म अनुसन्धानका लागि रोकिएको बताएका छन । २०० किलोमिटर फर्काएर लगेर पनि अनुसन्धान गरेको पाइयो । नियन्त्रणमा लिएपछि काराबाहीमा पर्ने तर बाटोमा रोक्नु हुँदैन,” उनले भने ।

एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले सरकारी संयन्त्रहरू अनुसन्धानका लागि नियन्त्रणमा लिएमा २४ घण्टा भित्रै त्यसको जानकारी भन्सार विभागलाई दिनुपर्ने हालको प्रश्तावित व्यवस्थामा असहमति राखे ।”अनुसन्धानका लागि नियन्त्रणमा लिएमा २४ घण्टा भित्रै त्यसको जानकारी गराउने होइन, जानकारी दिएर मात्रै नियन्त्रणमा लिनुपर्छ,”उनले भने ।

उनले भन्सार जाँचपासपछि मालवाहक गाडीहरूलाई निर्वाध रुपमा गन्त्व्य ठाउँसम्म पुग्न दिनुपर्ने बताए । बाटोघाटोमा दुःख दिने काम दिनु नहुने भन्दै यसका लागि कानूनी प्रवन्ध गर्नुपर्ने उनको भनाइ छ ।  राजश्व सचिव दिनेश घिमिरेले राजस्व नोक्शानी समेत नहुने गरी व्यवासयीक वातावरण बनाउनुपर्ने बताए ।

भन्सार विभागका महानिर्देशक महेश भट्टराईले अनुसन्धान गर्नुपर्ने भएमा अनुसन्धान गर्ने अधिकार प्राप्त निकाय भन्सार कार्यालय वा राजस्व अनुसन्धानले पक्राउ गरेमा २४ घण्टाभित्र महानिर्देशकलाई जानकारी दिने व्यवस्था राखिएको बताए ।
नेपाली काँग्रेसका सांसद डा.प्रकाशशरण महतले जाँचपासका नाममा समेत विभिन्न दुःख दिने काम भएको बताए ।जाँचपास गर्दा जुनसुकै सिलबन्दी गरिएका वस्तुलाई पनि कब्जा गरेर नियन्त्रण लिनेबारे ख्याल गरिनुपर्ने बताए ।  

बुधवारको अर्थसमिति बैठकले भन्सार विधेकयमा रहेको अस्थायी निकासी गर्न दिइने बारेका व्यवस्थालाई अनुमोदन गरेको छ । यससँगै कुनै वस्तुको कच्चा पदार्थ  प्रशोधन वा सोबाट कुनै वस्तु उत्पादन वा निर्माण गर्नको लागि वा कुनै वस्तु मर्मतको लागि वा अन्य कुनै उद्देश्यको लागि नगद धरौटी वा बैंक जमानत लिई अस्थायी निकासी गर्न कानून अनुसार भन्सार अधिकृतले अनुमति दिन सक्नेछन् । 

भन्सार विधेयकमा रहेको पैठारी गरिएको वस्तुमा खराबी देखिएको, जुन उद्देश्यका लागि पैठारी गरिएको हो परिपूर्ति हुन नसकेमा त्यस्तो वस्तु भन्सार अधिकृतले फिर्ता पठाउन सक्ने प्रावधानलाई समेत समितिले पारित गरेको छ ।