काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बजार अनुगमनका लागि जनशक्ति अभाव रहेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र उपभोक्ता हित संरक्षण मञ्च नेपालले आयोजना गरेको ‘व्यवसाय र उपभोक्ताको मानवअधिकार, शीघ्र र सुलभ न्यायका लागि उपभोक्ता अदालत’ विषयक अन्तर्क्रियामा उनले जनशक्ति अभावकै कारण प्रभावकारी बजार अनुगमन गर्न कठिनाइ भइरहेको बताए ।
उनका अनुसार उपभोक्ता संरक्षण ऐनले बजार अनुगमनको व्यवस्था गरे पनि पर्याप्त जनशक्ति नहुँदा अन्य थुप्रै कार्यहरू प्रभावित भएका छन् । तर, उपभोक्ता अदालतको स्थापनापछि यस्ता कामलाई थप प्रभावकारी बनाइने विश्वास उनले व्यक्त गरे ।
मन्त्री भण्डारीले उपत्यकाका तीन जिल्लालाई लक्षित गर्दै भोलिदेखि उपभोक्ता अदालत सञ्चालनमा आउने जानकारी गराउँदै उपभोक्ताहरूले सामान खरिद गर्दा बिल नमाग्ने प्रवृत्तिले पनि समस्या बढाएको बताए । उनका अनुसार उपभोक्ता अदालतका फैसलाले ठगीका घटनाहरू क्रमशः घट्दै जानेछन् ।
उनले उपभोक्ता अदालतको निर्णय व्यवसायीहरूका लागि पनि मार्गदर्शन बन्ने विश्वास व्यक्त गर्दै यसले बजारलाई सन्तुलित बनाउन सहयोग गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्