महिलाहरूलाई आर्थिक सशक्तिकरणको महत्वपूर्ण आधारका रूपमा विकास गर्नुपर्छः अध्यक्ष अग्रवाल


काठमाडाैँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले महिलाहरूलाई आर्थिक सशक्तिकरणको महत्वपूर्ण आधारका रुपमा विकास गर्दै लैजानु आजको आवश्यकता भएको बताएका छन् । 

आइतवार नेपाल उद्योग परिसंघले आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलनमा बोल्दै उनले नेपालको औद्योगिक एवं आर्थिक क्षेत्रको समृद्धिमा महिलाहरूको भुमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै महिलाहरूको भुमिका थप बढाउनुपर्ने आवश्यकता रहेको बताए ।

उनले नेपालमा महिला उद्यमशीलताको विकास सकारात्मक रूपमा बढिरहेको र नेपालका महिला उद्यमीहरुले कृषि, पर्यटन, सूचना प्रविधि, हस्तकला लगायत क्षेत्रमा उल्लेखनिय योगदान पु¥याइरहेको बताए । साना साना व्यवसायमार्फत भएपनि मुलुकको अर्थतन्त्रमा महिलाहरुको योगदान बढ्दै गइरहेको अध्यक्ष अग्रवालको भनाइ छ ।

देशले अवलम्वन गरेको नीतिगत व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै आर्थिक विकासको महत्वपूर्ण आधार महिला पनि हुन् भन्नेकुरा अघि बढाउन आवश्यक रहेको बताए । नीति निर्माणमा महिलाहरुको सहभागिता बढाउन आवश्यक रहेको उल्लेख गरे ।

अध्यक्ष अग्रवालले राज्यले महिलाहरुलाई थप प्रोत्साहन गर्नुपर्ने बताए । सार्वजनिक निकायमा महिलाको सहभागिता बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।