लोकतन्त्र एउटा हाइवे हो, हाइवेमा ब्याक गेयर लाग्दैनः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले परिस्थिति ठिक बनाउन नसकेसम्म योजनावद्ध ढंगले परिस्थिति परिवर्तन गर्न लाग्ने बताएका छन् ।

आईतवार नेपाल उद्योग परिसंघले आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले योजनाहिन धैयर्ता र सक्रियता नभइ योजनावद्ध सक्रियता, धैयर्तापूर्वक अघि बढिरहेको बताएका हुन्।

प्रधानमन्त्री ओलीले आशावादीताका साथ अघि बढ्दा र योजनासहित अघि बढ्दा असम्भव केही पनि नहुने जिकिर गर्दै सरकार भ्रष्टाचार नियन्त्रण र अन्त्य गर्नका लागि संकल्पका साथ अघि बढिरहेको जनाए ।

उनले नेपालमा अहिले झुटको खेती धेरै हुने गरेको भन्दै सही र गलत छुट्याएर अघि बढ्न जोड दिए । लोकतन्त्र एउटा राजमार्ग भएको र राजमार्गमा ब्याक गेयर नलगाइने भन्दै निरन्तर अघि बढ्ने बताए ।

प्रधानमन्त्री ओलीले भने, “मलाई विचित्र लाग्छ, नेपाल यति साह्रै झुट बोल्ने अभ्यासमा कहिल्यै पनि थिएन । यस्तो झुट बोल्ने अभ्यास चलाएको छ, गोएबल्स थेउरी भन्ने जे पनि बोलेको छ बोलेको छ । मान्छे हेर्दा भलाद्मी देखिन्छ, केके बोलेको छ । यसबाट जोगिनुपर्छ, सही र गलत छुट्याएर अघि बढ्नुपर्छ । डेमोक्रेसी भनेको हाइवे हो । यसमा ब्याक गेयर लगाइँदैन, अघि बढिन्छ ।”

प्रधानमन्त्री ओलीले सरकार योजनावद्ध गतिका साथ अघि बढिरहेको बताए।

—न्युज एजेन्सी नेपाल