अर्थमन्त्री वाग्लेले आज भारतीय विदेशमन्त्रीसँग भेटघाट गर्ने


काठमाडौँ । अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले आफ्नो तीन दिने भारत भ्रमणका क्रममा आज भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यतालिका छ ।

आज बिहान ९ बजे पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुने र बेलुकी ५ बजे भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यतालिका छ । आजै बेलुकी ७ः३० बजे भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत भेटघाट कार्यक्रममा अर्थमन्त्री वाग्ल सहभागी हुनेछन् ।

यस्तै शनिवार ९ः३० बजे भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी भएपछि ११ः३० बजे दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुने अर्थ मन्त्रालयले जनाएको छ । अर्थमन्त्री वाग्ले शनिबार साँझ ४ बजे नेपाल फर्कने छन् ।

भ्रमणको पहिलो दिन हिजो अर्थमन्त्री वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबिच भेटवार्ता भएको थियो ।