फ्लोरा एक्स्पोको तेस्रो दिनः ३० लाखभन्दा बढीको कारोबार, १७ हजारले गरे अवलोकन


काठमाडाैँ । काठमाडौँको भृकुटीमण्डपमा शुक्रबार देखि जारी २६ औँ फ्लोरा एक्स्पोमा तेस्रो दिन ३० लाख ७० हजार रुपैँयाकाे कारोबार भएको छ । तेस्रो दिन मेलामा १७ हजार भन्दा धेरैले अवलोकन गरेका फ्यानले जनाएकाे छ ।

मेलाको तेस्रो दिन फ्लोरिकल्चर एसाेसिएसन नेपालको आयोजना तथा लायन्स क्लब अफ ग्लोबल फ्लोरिकल्चरको सहआयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा पुष्प ब्यबसायी, मेला अबलोकनकर्ता, बिद्यार्थी लगायतको सहभागीता रहेको थियो ।

सोमबार सम्म चल्ने सो पुष्प मेलालाई ६० हजारले अवलोकन गर्ने र एक करोड रुपैँयाभन्दा बढीको कारोबार गने लक्ष्य फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) लिएको जनाएको छ ।

मेलामा व्यावसायिक ६७, ल्याण्डस्केपिङ एक, अफिसियल दश, प्रतियोगितात्मक प्रदर्शनी दुइ र फूडस्टल ३ वटा सहित जम्मा ८३ वटा स्टल रहेका छन् । मेला अवलोकनका लागि सर्वसाधारणका लागि एक सय पचास र विद्यार्थीका लागि एक सय रुपैयाँ प्रबेश शुल्क तोकिएको र जेष्ठ नागरिकहरुलाई भने निशुल्क प्रबेशको ब्यबस्था गरिएको मेला सहसंयोजक सुमन महर्जनले बताए ।

एक्स्पोमा आलंकारिक बोटबिरुवा, सिजनल फूल बिरुवाहरु, सुनखरीका फूल बिरुवाहरु, फलफूलका बोटबिरुवाहरुको कारोबार भइरहेको कार्यक्रम संयोजक तथा फ्लोरिकल्चर एसाेसिएसन नेपालका बरिष्ठ उपाध्यक्ष राम बहादुर तामाङ (सुनिल) ले जानकारी दिए । मेलामा फूलप्रेमी तथा अबलोकनकर्ताको भीड बाक्लो भएका कारण सोचेअनुरुपनै कारोबार हुनेमा आफू विश्वस्त रहेको पनि संयोजक तामाङले बताए ।

उपभोक्ता पनि अन्तिम अबस्थामा आउने भएका कारण मेलाको अन्तिम दिन यसअघिको भन्दा धेरै कारोबार हुने अपेक्षा फ्यानको रहेको छ । नेपालमा बि.सं.२०११ सालमा सामान्य स्तरबाट पुष्प व्यवसायको सुरु भएको इतिहास रहेको छ । यस पछि पुष्प व्यवसायले बिस्तारै गति लिएको र बि.सं. २०४९ साल ताकासम्म लगभग सिमीत संख्यामा मात्रै पुष्प नर्सरी व्यवसायीहरु रहेको थियो । हाल नेपालमा ५२ जिल्लामा २६० हेक्टर भन्दा बढि क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको, १ हजार १७४ भन्दाबढी पुष्प व्यवसायीहरू संलग्न रहि व्यवसाय गरिरहेको, अनुमानित लगानी रु.८ अर्व ८३ करोड भन्दाबढी रहेको, प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा गरि ५१ हजार ५०० भन्दाबढी जनशक्तिहरू रोजगार रहेका र पुष्प तथा पुष्पजन्य बस्तुको बार्षिक कारोबार ३ अर्ब ६८ करोड भन्दाबढी रहेको छ ।