फागुनमा २२ अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रवाह, ३९ अर्ब ९९ करोड रुपैयाँ निक्षेप संकलन


काठमाडौँ । फागुन महिनामा वाणिज्य बैंकहरुले २२ अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरुले फागुन महिनामा मात्र २२ अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।

चालू आर्थिक वर्षको ८ महिनामा वाणिज्य बैंकहरुले २ खर्ब ७९ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । २०८१ असार मसान्तमा वाणिज्य बैंकहरुले ४५ खर्ब ७० अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए भने २०८१ फागुन मसान्तसम्म ४८ खर्ब ५० अर्ब ५९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । एक बैंकका प्रमुख कार्यकारी अधिकृतका अनुसार अहिले गइरहेको कर्जा सोयाबिन तेलको कच्चा पदार्थ आयातको लागि गइरहेको छ ।

फागुन महिनामा सबैभन्दा बढि राष्ट्रिय वाणिज्य बैंकले कर्जा प्रवाह गरेको छ भने एन आई सी एशिया बैंकको कर्जा प्रवाह ३५ अर्ब ४३ करोड रुपैयाँले घटेको छ । एन आई सी एशिया बैंकले २०८१ असार मसान्तमा २ खर्ब ८५ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । यो अवधिमा बैंकले थप कर्जा प्रवाह नगरेपछि ८ महिनामा कर्जा प्रवाह घटेर २ खर्ब ४९ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेको हो ।

चालू आर्थिक वर्षको ८ महिनामा वाणिज्य बैंकहरुले २ खर्ब ८२ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । २०८१ असार मसान्तसम्म ५७ खर्ब ५४ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए भने २०८१ फागुन मसान्तसम्म ६० खर्ब ३७ अर्ब ४ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । वाणिज्य बैंकहरुले फागुन महिनामा मात्र ३३ अर्ब ९९ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

चालू आर्थिक वर्षको ८ महिनामा १९ ओटा वाणिज्य बैंकहरुले निक्षेप बढ्दा एन आई सी एशिया बैंकको निक्षेप भने घटेको छ । यो अवधिमा एन आई सी एशिया बैंकको निक्षेप ६१ अर्ब ८६ करोड रुपैयाँले घटेको छ ।