चितवन । चितवनको भरतपुरमा १ सय २९ जना भूमिहिन दलित तथा सुकुम्बासी घरपरिवारलाई जग्गाधनी प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरिएको छ ।
भरतपुर महानगरपालिका वडा न ११ का १ सय १६, वडा नम्बर १५ का ९ र वडा नम्बर २६ को ४ गरी १ सय २९ घरधुरीलाई आज (आइतबार) एक कार्यक्रमकाबिच लालपूर्जा वितरण गरिएको हो ।
सो अवसरमा भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजालले जनता राज्यका शक्ति भएकाले उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा दिनु सरकारको मुख्य दायित्व रहेको बताए ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सुकुम्बासीलाई जग्गा दिने विषयलाई राजनीतिकरण गर्न नहुने तर्क राखिन् ।
“सुकुम्बासीलाई लालपूर्जा दिने विषयमा भरतपुरमा कुनै पनि राजनीतिक गन्ध देखिने छैन,” उनले भनिन्,”हामी नागरिकप्रति जिम्मेवार छौ । स्थानीय सरकार भरतपुर महानगर जिम्मेवार छ । कानुन, विधि र ऐनअनुसार यो कार्य अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दछु ।”
भरतपुरमा महानगरपालिकाको तथ्याङक अनुसार भूमिहिन दलित २ हजार ५२, भूमिहिन सुकुम्बासी ३ हजार ९ सय १७ र अव्यवस्थित ५ हजार २ सय ३७ गरी ११ हजार २ सय ६ जना सुकुम्बासी घुरी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्