एक महिनामा २ खर्ब १५ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रियो


काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा २ खर्ब १५ अर्ब ५ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८३÷८४ को पहिलो महिनामा विप्रेषण आप्रवाह २१.२ प्रतिशतले वृद्धि भएर २ खर्ब १५ अर्ब ५ करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले बढेको थियो ।

यो अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.२ प्रतिशतले बढेर एक अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २५.० प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) २ खर्ब २९ अर्ब ९८ करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय एक खर्ब ९३ अर्ब ८५ करोड रूपैयाँ रहेको थियो ।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४२ हजार ६९३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २७ हजार ७४८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४४ हजार ४६६ र २३ हजार ४४ रहेको थियो ।