श्रमिकहरूलाई सम्झौताअनुसार सेवा सुविधा नदिने मेनपावर कम्पनीहरूलाई कानूनी दायरामा ल्याउन सरकारको ध्यनाकर्षण


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई सम्झौताअनुसार पारिश्रमिक दिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै कार्यवाहक सभापति अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिहरू ठगिएको, समस्या परेको र दुतावासमा समस्या राख्दा बेवास्ता गर्ने गरेको गुनासो आउने गरेको भन्दै यस्तो ध्यानाकर्षण गराएका हुन् ।

उनले युएई र मलेसियाको सेक्युरिटी कम्पनीमा कार्यरत श्रमिकहरुले सम्झौताअनुसार पारिश्रमिक, विदा र औषधि उपचार उल्लेख गरे । मेनपावर कम्पनीहरुले श्रमिकहरूलाई भनेअनुसारको सेवा सुविधा नदिने र गुनासो गर्दा धम्क्याउने गरेको समेत बताए । उनले मुलुक रेमिट्यान्सले चलिरहेको अवस्थामा श्रमिकहरूलाई सम्झौताअनुसारको सेवा सुविधा दिलाउन र श्रमिकलाई दुःख दिने मेनपावर कम्पनीहरुलाई कानूनी दायरामा ल्याउन समेत माग गरे ।

“विदेशमा पसिना बगाएर पठाएको रेमिट्यान्सले टेको दिएको विदितै छ । तर उनीहरूको पीडा भने हामीले बुझ्न सकेका छैनौं । दैनिक जसो मेरो सचिवालयमा ठगिएको, समस्या परेको र दुतावासमा समस्या राख्दा बेवास्ता गर्ने गरेको गुनासो आउने गरेको छ । हालै युएई र मलेसियाको सेक्युरिटी कम्पनीमा कार्यरत श्रमिकहरूले सम्झौताअनुसार पारिश्रमिक, विदा र औषधि उपचार नपाएको गुनासो हामीमाझ गर्नुभएको छ,” उनले भने ।

उनले वर्षातको समय नजिकिएकाले बाढीको जोखिम भएका नदिहरुमा तटबन्धको व्यवस्था गर्न समेत माग गरे ।