भैरहवा र पोखरा विमानस्थलमा १० ओटा वाइडबडी बराबरको भ्रष्ट्राचार भएको छः सांसद आले


काठमाडौँ । सांसद प्रेम आलेले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १० वाइडबडी बराबरको भ्रष्ट्राचार भएको बताएका छन् ।

मंगलबार सार्वजनिक लेखा समितिको बैठकमा सांसद आलेले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा वाइडीबडी विमान बराबरको मात्र भ्रष्ट्राचार नभई १० ओटा वाइडबडी बराबरको भ्रष्ट्राचार भएको बताएका हुन् ।

उनले ठुलो भ्रष्ट्राचार भएकोले हतारमा प्रतिवेदन ल्याउन नहुने बताएका छन् । “हतारमा एकहप्तामा प्रतिवेदन ल्याएर बुझाउन भन्दै हुनुहुन्छ । १० ओटा वाइडबडी बराबरको भ्रष्ट्राचार भएको छ हतार गरेर हुँदैन,” उनले भने ।

विज्ञहरुले पोखरा विमानस्थलको रनवेको उचाइ २० फिट माथि हुनुपर्ने बताएपनि त्यहाँको आयोजना प्रमुखले रनवे तल बनाएको उनले बताए ।

उनले भने, “पोखरामा चार्टड फ्लाइट सुरु भयो भनेर सु्निरहेको छु । चार्टड फ्लाइटले पुग्छ ? सर्वसाधारण जनताले साधारण टिकट काटेर चढ्न पाउनुपर्यो । यो एकदम गम्भिर विषय छ । अहिले भएको उपसमिति जहाँ पुग्नुपर्ने हो त्यहाँ पुगेको छैन । त्यो पनि उहाँहरुले गर्न चाहनु भएको छैन । जसले गल्ति गरेको नाम किटान गरेर ल्याउनुपर्छ ।”

पोखरा विमानस्थलका लागि ७८७ विघा जग्गा अतिक्रमण गरिएको छ । उनले भने, “जसको जग्गा सडकमा जोडिएको छ उसले प्रति कठ्ठा एक लाख ६० हजार रुपैयाँ पायो । सडकममा नजोडिएको जग्गा प्रति कठ्ठा ६० हजार मात्र पाउनुपर्ने तर रातारात मालपोतलाई प्रभाव पारेर उसलाई पनि २ लाख ६० हजार दिने काम भएको छ । त्यहाँको सबै नाम ल्याउनुपर्छ ।”