फिनटेक मार्केटप्लेसहरू व्यवसाय–देखि–व्यवसाय (बिटुबी) इकोसिस्टमका रूपमा काम गर्छन् । विभिन्न वित्तीय सेवा तथा समाधानहरूलाई एउटै प्लेटफर्ममा उपलब्ध गराएर उपभोक्ता, व्यवसाय र वित्तीय संस्थाहरूलाई सेवा छनोट, तुलना, एकीकरण र प्रयोग गर्न सहज बनाउँछ ।
आर्थिक वर्ष २०८३/८४ को बजेटमा सरकारले ‘फिनटेक मार्केटप्लेस’ स्थापना गर्ने घोषणा गरेको छ । सरकारले डिजिटल सार्वजनिक पूर्वाधार विकासअन्तर्गत नेपाल राष्ट्र बैंकको सुपरीवेक्षणमा ‘फिनटेक मार्केटप्लेस’ स्थापना गरिने घोषणा गरेको हो ।
प्रविधिको प्रयोग बढ्दो अवस्थामा रहेको समयमा सरकारले धेरै प्रदायकका वित्तीय उत्पादन र सेवाहरूलाई केन्द्रिकृत र एकीकृत गर्ने भन्दै यस्तो अवधारणा अगाडि सारेको हो । यसअन्तर्गत सबै सेवा एक विन्दुबाट सहजरूपमा लिन सकिन्छ ।
प्रयोगकर्ताहरू (उपभोक्ता वा व्यवसायीहरू) एउटै स्थानमा ती सेवाहरूको तुलना, चयन र लेनदेन गर्न सक्षम हुन्छन् । फिनटेक मार्केटप्लेस डिजिटल प्लेटफर्म भएकोले सफ्टवेयरको माध्यमबाट वित्तीय सेवा र उत्पादनलाई एकै ठाउँमा एकीकृत गर्छ ।
उपभोक्ता, व्यवसाय वा वित्तीय संस्थाहरूलाई भुक्तानी, ऋण, बिमा तथा बैंकिङ सेवाजस्ता वित्तीय उपकरणहरूको तुलना गर्न, खरिद गर्न र एकीकृत रूपमा प्रयोग गर्न सहज बनाउने भएकोले अलग–अलग सेवा प्रदायक वा बिक्रेतासँग फरक फरक रूपमा कारोबार गर्नुपर्दैन ।
फिनटेक मार्केटप्लेस खुला संरचनामा निर्भर हुने भएकोले एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपिआई) द्वारा सञ्चालित हुन्छ । यसले वित्तीय ग्राहक, फिनटेक स्टार्टअपहरू र परम्परागत वित्तीय संस्थाबिच पुलको काम गर्दछ । सरकार र नियामक निकायहरूले तोकेको सीमाभित्र सञ्चालन हुन्छन् ।
बिज बजारमा सिइओ उत्सव ढकाल यसको लागि प्रयोगकर्तामैत्री वेबसाइट र मोबाइल एप सञ्चालनका लागि आधारभूत आवश्यकता रहेको बताउँछन् । उनले एप र वेबसाइटको राम्रो लेआउट मात्र नभई डाटा सुरक्षा (प्राइभेसी) र यान्त्रिक बौद्धिकता (एआई) मा आधारित हुनुपर्ने बताउँछन् ।
फिनटेक मार्केटप्लेसहरूले मध्यस्थता र डिजिटल मलको रूपमा काम गर्छन् । प्रयोगकर्ताहरूले फरक–फरक बैंकमा गएर जानकारी लिने भन्दा पनि एउटै एप वा प्लेटफर्ममा गएर ऋण, क्रेडिट कार्ड, ब्यादरका सुविधाहरू एकैठाउँमा तुलना गर्न सक्दछन् । विश्वका विभिन्न फिनटेक मार्केट प्लेस प्लेटफर्महरूले व्यापारीहरूलाई एउटै एकीकृत ड्यासबोर्डमार्फत भुक्तानी लिने, मौज्दात व्यवस्थापन र व्यावसायिक वित्तीय सहायता उपलब्ध गराउँदै आएका छन् ।
फिनटेक मार्केटप्लेसहरू व्यवसाय–देखि–व्यवसाय (बिटुबी) इकोसिस्टमका रूपमा काम गर्छन् । विभिन्न वित्तीय सेवा तथा समाधानहरूलाई एउटै प्लेटफर्ममा उपलब्ध गराएर उपभोक्ता, व्यवसाय र वित्तीय संस्थाहरूलाई सेवा छनोट, तुलना, एकीकरण र प्रयोग गर्न सहज बनाउँछ । यसले समय, लागत र जटिलता घटाएर वित्तीय सेवाहरूको पहुँच र दक्षता बढाउँछ ।
डिजिटल वालेट र नियो–बैंकहरू मार्केटप्लेसमा विकसित हुन्छन् । तिनीहरूले सरल भुक्तानी वा बचत खाताहरू प्रस्ताव गरेर सुरु गरे पनि एपिआईलाई एकीकृत गरेर आफ्नै इन्टरफेसमा बिमा, ऋण र रेमिट्यान्स सेवाहरू बेच्छन् । नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्व पौडेलले सरकारले बजेटमा ‘पेमेन्ट गेटवे’ सञ्चालन गर्ने भन्दा पनि ‘फिनटेक मार्केटप्लेस’ को अवधारणा अगाडि सारेको बताएका छन् ।
सरकार सफ्टवेयर किनेर चलाउने भन्दा पनि निजी क्षेत्रका फिनटेक कम्पनीहरू सुरक्षितरूपमा जोडिन राष्ट्र बैंकले नियमनकारी प्लेटफर्म बनाइदिने उनको भनाइ छ । यो वित्तीय कारोबार भएको कारणले पनि राष्ट्र बैंकको नेतृत्वमा अगाडि बढ्नेछ । यसको नियमन र सुपरीवेक्षण राष्ट्र बैंकले गर्नेछ ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा विद्युतीय भुक्तानीका उपकरणहरूबिच अन्तरआबद्धता कायम गर्ने उल्लेख गरेको थियो ।
राष्ट्र बैंकले मौद्रिक नीतिमा भनेको थियो, “विद्युतीय भुक्तानीका उपकरणबिच अन्तरआबद्धता कायम गर्दै नेपालभित्र हुने भुक्तानी कारोबारको राफसाफ तथा अभिलेखीकरण गर्न र नेपालको आफ्नै भुक्तानी कार्ड प्रयोगमा ल्याउन राष्ट्रिय भुक्तानी स्वीच स्थापनाको कार्य सम्पन्न गरिनेछ ।”
राष्ट्र बैंकले विद्युतीय भुक्तानीका उपकरणहरू अन्तरआबद्धता गर्ने भने पनि डिजिटल वालेटहरूले त्यसअनुसार सेवा दिन सकिरहेका थिएनन् । राष्ट्र बैंकले भनेको करिब ४ वर्षपछि फिनटेक मार्केट प्लेसको अवधारणा ल्याएको हो ।
ई–सेवाका व्यवसाय वृद्धि तथा नवप्रवद्र्धन प्रमुख जबिर अलि भारतमा युपिआईहरूले गरिरहेको जस्तो नेपालमा पनि त्यस्तै गर्न खोजेको उनले बताए । “यो पिएसपी, पिएसओ सबैको लागि पहुँचमा हुनुपर्छ । सरकारले अन्तरआबद्धता सबै लागू हुनुप¥यो भन्न खोजेको हो,” उनले भने ।
परम्परागत व्यवसायमा उत्पादन र सेवाहरू बेचेर शुल्क लिने गरिन्थ्यो त्यो पुरानो हुँदै गइरहेको छ । अहिले नयाँ अनुसार फिनटेक कम्पनीहरूले ग्राहकका लागि मूल्य राखेर समय, स्रोत र पैसा बचत गर्ने काम गरिरहेका छन् ।
आधुनिक ओपन आर्किटेक्चर प्रणालीहरू अब ओपन रेस्ट एपिआई, माइक्रोसर्भिसेस, कन्टेन, निजी तथा सार्वजनिक क्लाउड र डेलिभरीको ढाँचामा छन् । फिनटेक मार्केटप्लेसहरूले एज कम्प्युटिङ, बिग डेटा, रोबोटिक प्रोसस अटोमेसन (आरपिए), एआई र क्लाउड सेवाहरूलाई एकीकृत गरेर छिटो प्रणाली निर्माण गर्न सहयोग गर्छन् ।
वित्तीय सेवाहरूलाई अनलाइन मार्केटप्लेससँग जोड्दा प्रतिफल पनि बढ्दै गइरहेको छ । फिनटेक मार्केट प्लेसको सञ्चालनको तयारी हुनु यो एउटा डिजिटल क्रान्ति पनि हो । प्रविधि सामान्य बन्दै गइरहेको अवस्थामा दीर्घकालीन सफलताको लागि आफ्नो प्लेटफर्म कति अनुकूलन र एकीकृत बनाउन सक्छन् त्यसमा पनि निर्भर हुन्छ ।
पछिल्लो समय युवाहरू प्रविधिमा पोख्त रहेको समयमा कुनै पनि ठाउँमा बसेर एकै प्लेटफर्मबाट सेवा लिनको लागि सहज हुने भएकोले पनि यसको आवश्यकता छ । यसले ग्राहक आवश्यकतामा केन्द्रित, पारदर्शिता र धेरै विकल्प तथा आफूले चाहेको मूल्य पाउने भएकोले पनि यसको आवश्यकता छ ।
फिनटेक कम्पनीहरूले तेस्रो पक्षसँग साझेदारी गर्ने भएकोले पनि यसले लागत घटाउँछ भने प्रयोगकर्ताहरूले पनि सहज अनुभव लिनसक्छन् । यसमा प्रतिस्पर्धात्मक लाभ दिन प्रविधिको उपयोग सहज हुन्छ । यसले विशेष गरेर वित्तीय सेवा विकेन्द्रीकरण बढाउँछ भने डिजिटल पूर्वाधार निर्माण पनि गर्दछ ।
यसले परम्परागत वित्तीय सेवाहरूमा प्रभाव पार्छ भने ग्राहक–केन्द्रित दृष्टिकोणलाई प्रोत्साहन गर्छ । उपभोक्ताहरूलाई विभिन्न वित्तीय उत्पादन र सेवाहरूको एकीकृत जानकारी दिने भएकाले पनि एउटै संस्थामा निर्भर हुने अवस्था हुँदैन भने उपभोक्ताले छनोट गरेर सेवा लिन सक्दछन् ।
यसले परम्परागत वित्तीय संस्थाहरूलाई आफ्ना रणनीतिहरू पुनर्विचार गर्न तथा डिजिटल क्रान्तिअनुसार आफूलाई अनुकूल बनाउन बाध्य बनाउँछ । अर्कोतर्फ, यस्ता प्लेटफर्महरूले परम्परागत वित्तीय संस्थाहरूलाई आफ्नो ग्राहक विस्तार गर्ने अवसर दिन्छ । उनीहरूले यी प्लेटफर्महरूको प्रयोग गरेर अझ व्यापक ग्राहक समूहसम्म पुग्न सक्छन् र आफ्ना सेवाहरूलाई अझ सहज, पहुँचयोग्य तथा प्रयोगकर्ता–मैत्री तरिकाले उपलब्ध गराउन सक्छन् ।
यसले नियामक अभ्यास, सुरक्षाका उपायहरू र विद्यमान वित्तीय प्रणालीहरूसँगको एकीकरणमा परिवर्तन ल्याइरहेको छ । यस प्लेटफर्मले वित्तीय क्षेत्रमा परिवर्तन, प्रतिस्पर्धी र ग्राहकमैत्री भविष्यको आधार तयार बनाउँछ ।
(टक्सार म्यागेजिन २०८३ असार अंकमा प्रकाशित)


प्रतिक्रिया दिनुहोस्