कृषि र किसानको सम्मानले मात्र कृषि क्षेत्र सुधार सम्भव छः मन्त्री अधिकारी


काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि तथा किसानको सम्मानले मात्र मुलुकको कृषि क्षेत्रको सुधार सम्भव हुने बताएका छन् ।

ईलामको रोङ गाउँपालिकाले आयोजना गरेको ‘गुरु किसान घोषणा कार्यक्रम’लाई सम्बोधन गर्दै मन्त्री अधिकारीले गाउँपालिकाले अघि सारेका कार्यक्रमहरू सराहनीय रहेको र यस्ता कार्यक्रमहरूलाई संघीय सरकारले पनि स्वामित्व लिनुपर्ने उल्लेख गरे ।

मन्त्री अधिकारीले स्थानीय सरकारले कृषि उत्पादन विकासका लागि अघि सारेका नवीन अवधारणाहरूको अनुकरण गर्न आवश्यक रहेको बताए । कृषि क्षेत्रमा ज्ञान र प्रविधि हस्तान्तरण महत्त्वपूर्ण भएकाले ‘गुरु किसान’को अवधारणा उपयोगी हुने उनको विश्वास छ।

सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुटिरहेको बताउँदै उनले कृषि तथा किसानको हित हुने कार्यक्रमहरू समेट्ने पहल गरिरहेको जानकारी दिए । सीमित बजेटका कारण उच्च प्रतिफल दिने योजनामा केन्द्रित हुनुपर्ने बताउँदै उनले तीनै तहका सरकारहरूबिच सहकार्य अनिवार्य रहेको उल्लेख गरे ।

कार्यक्रमकै अवसरमा मन्त्री अधिकारी र कोशी प्रदेशका कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्री खगेन्द्रसिंह लिम्बुले संयुक्त रूपमा गाउँपालिकाले निर्माण गरेको कृषि प्रशोधन केन्द्रको उद्घाटन गरेका थिए । सो केन्द्रमा गुन्द्रुक उत्पादनका लागि आवश्यक उपकरणहरू जडान गरिएका छन्। गाउँपालिकाले गुन्द्रुकलाई ब्रान्डिङ गरी बजारमा लैजाने योजना बनाएको छ।

त्यस्तै, गाउँपालिकाले १२१ किसानलाई ‘गुरु किसान’ घोषणा गर्दै परिचयपत्रसमेत प्रदान गरेको छ। यी किसानहरूले स्थानीय कृषकलाई आधुनिक खेती प्रणाली र प्रविधि सिकाउने जिम्मेवारी पाउने छन्।