काठमाडाैँ । सिरहाको ओरही गाउँपालिका वडा नम्बर ५ मा महायज्ञ गर्न पालिकाले दलित परिवारको घर भत्काइएको घटनाको विषय राष्ट्रिय सभामा उठेको छ ।
शुक्रवारको सभाको बैठकको शुन्य समयमा बोल्ने सांसदहरूले उक्त घटना जातीय विभेद र छुवाछुतको प्रमुख नमूना भएको भन्दै आवश्यक छानविन गरी दोषिलाई कारबाही गर्न माग गरेका हुन् । सो घट्नामा गाउँपालिका अध्यक्ष शिवजी यादव र विष्णु महायज्ञका आयोजक भनिएका बजरंगी बाबालाई कारबाही गर्न सांसदहरूको माग गरेका छन् ।
नेकपा-एकीकृत समाजवादी)की सांसद गोमादेवी तिमिल्सिनाले उक्त विभेदको घटनाको नेतृत्व गर्ने गाउँपालिका अध्यक्षलाई कारबाही गर्न माग गरिन् । “सिरहामा महायज्ञ लगाउने नाउँमा दलितलाई देखिन्छ रे भनेर जनता आवासअन्तर्गत बनेको घर गाउँपालिका अध्यक्षको नेतृत्वमा पालिकाकै डोजरले दलितको भत्काएर उठिवास लगाइएको छ । अध्यक्ष लगायत सबैलाई सरकारले नियन्त्रणमा लिएर कारबाही गरोस्,” उनले भनिन् ।
त्यस्तै नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले उक्त घट्नाको छानविन गरी दोषिलाई कारबाी गर्न माग गरिन् । राष्ट्रिय जनमोर्चाबाट राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले समेत उक्त घट्ना निन्दनीय भएको भन्दै छानविन गरी दोषिलाई कानूनको दायरामा ल्याउन माग गरे । समाजमा विद्यमान जातीय छुवाछुत अन्त्यका लागि सबैले एकजुट हुन जरुरी रहेको उनले बताए ।
बैठकमा बोल्ने प्रायः सबै सांसदहरूले उक्त घटनाबारे सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् । नेपाल जातीय विभेद तथा छुवाछुतमुक्त राष्ट्र घोषणा भएको दुई दशक हुन लाग्दा पनि दलित भएकै कारण बस्ती उठाउनु अमानवीय कार्य भएको उनीहरुले उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्