भूराजनीतिक संवेदनशीलता नबुझ्दा देशमा कठिन अवस्था आउनसक्छः ईश्वर पोखरेल


काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालले भूराजनीतिक संवेदनशीलता बुझेर राजनीतिक गतिविधि अगाडि बढाउनुपर्ने बताएका छन् ।

शुक्रवार काठमाडौंमा नेकपा एमाले शहरी विकास विभागद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा भूराजनीतिक संवेदनशीलता नबुझ्दा देशमा कठिन अवस्था आउनसक्ने बताएका हुन् । उनले विश्वको सबैभन्दा धेरै जनसंख्या भएका दुई मुलुकको बिचमा नेपाल रहेको भन्दै ढंग नपु¥याउँदा सार्वभौतिसत्ता, अखण्डता र स्वाधिनताका कायम राख्न कठिन हुने बताए ।

उनले राजावादीको आन्दोलनतर्फ इङ्गित गर्दै वर्तमान अवस्थामा नेपालको राष्ट्रिय शक्तिहरुलाई छिन्नभिन्न गराउने किसिमले कुनै शक्ति लागिरहेको भन्दै त्यस्ता गतिविधिप्रति सचेत रहनुपर्नेमा जोड दिए । उनले नेकपा एमालेले पार्टीको नीति निर्देशन र उद्देश्य मात्र नभइ समग्र राष्ट्रको समृद्धिका लागि सबै पक्षहरुलाई समेटेर अगाडि बढ्नुपर्ने बताए ।

उनले भने, “कतिपय कुराहरु पार्टीगत ढंगले गरिएको कुराहरु भन्दा पनि अलि पृथक ढंगल पनि सोच्नुपर्ने हुन्छ, देश निर्माण गर्ने खालका कुरा, पार्टीको एउटा भिजन छ । तर त्यो भिजनबाट निर्देशित भएर चलेर अगाडि बढ्ने हो । यो सँगसँगै अन्य सम्भव भएका सबै पक्षहरुलाई समेट्ने हिसावले हामी जानुपर्ने हुन्छ । त्यो योग्यतापूर्वक गर्न सकियो भने मात्रै हामी ठिक ढंगले अगाडि बढ्नसक्छौँ । आज हाम्रो देशको  सन्दर्भमा कतिपय लागिरहेका छन्, साथीहरुले भन्न खोज्न भाछ । हामीले जहिलेसम्म जियोपोलिटिक्स सेन्सेटिभिटीलाई बुद्धिमतापूर्ण ढंगले एड्रेस गर्न सक्दैनौँ हाम्रो देशलाई अगाडि बढ्न धेरै कठिन छ । तीनतिर भारतले घेरेको छ १८ सय किलोमिटर,बोर्डर खुला छ । उत्तरतिर १४ सय किलोमिटर सीमा जोडिएको चीन छ भाग्यले हिमालको पर्खाल छ । हामी संसारको लार्जेस्ट सेकेण्ड लार्जेस्ट जनसंख्या भएको मुलुकबीचमा छौँ । यस्तो अवस्थामा हामीले आफू जोगिन जोगाउन सार्वभौतिकता अखण्डता स्वाधिनता कायम राख्नका लागि धेरै विषयमा होस् पु¥याएर चल्नु पर्ने जरुरत छ । अरुको कतिपय कुराहरु निरपेक्षरुपले कपी गरेर चल्न खोज्यौँ भने त्यो उचित नहुन सक्छ । त्यसैले राष्ट्रिय शक्तिहरुलाई कमजोर बनाउने हिसावले जो लागिरहेका छन् त्यसलाई हामीले बुझ्नुपर्छ ।”

वरिष्ठ उपाध्यक्ष पोखरेलले अधिकार प्राप्तिको लडाइँ सकिएकाले राष्ट्रमा समृद्धि प्राप्तिको अभियानमा एमाले लागेको बताए । उनले एमाले राष्ट्रिय निर्णायक शक्ति बन्ने उद्देश्य राखेर अगाडि बढेको उल्लेख गरे।