काठमाडाैँ । खानेपानीमन्त्री प्रदीप यादवले नेपाल खानेपानी संस्थानका कर्मचारीहरूलाई विनियमावली कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।
आइतवार मन्त्रालयमा ‘कर्मचारी सेवा शर्त विनियमावली –२०८१’ सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले कर्मचारीहरुलाई यस्तो निर्देशन दिएका हुन् । उनले लामो समयदेखि रोकिएर बसेको कर्मचारी सेवा शर्त विनियमावली कर्मचारी हकहितका लागि लागू भएको बताए ।
उनले विनियमावली नेपाल सरकारको नियम र कानूनमा रहेर कार्यान्वयनमा ल्याइएको बताए । उनले कर्मचारी हकतिका लागि विनियमावलीमा संशोधनको आवश्यकता देखिए थप्नुपर्ने सेवा सुविधाका बारेमा जानकारी दिन आग्रह गरे । नियम कानूनअनुसार कर्मचारीहरूको हकहितका लागि विनियमावलीमा संशोधन वा थप्नुपर्ने कुरा भए आफू तयार रहेको उनको भनाइ छ ।
नेपाल खोनपानी संस्थानका महाप्रवन्धक इन्जिनियर अर्जुनबाबु ढकालले सात वर्षसम्म विनियमावली स्वीकृत नहुँदा संविधानले दिएको खानेपानीको उपभोगसम्बन्धि मौलिक हकको सेवामै समस्या उत्पन्न भएको बताए । उनले विनियमावलीको अभावमा रिक्त पदमा कर्मचारी पदपूर्ति तथा कर्मचारीको वृत्ति विकासमा समेत समस्या उत्पन्न भएको बताए । सरकारको ५० प्रतिशत भन्दा बढी शेयर भएको संस्थामा लोकसोवा आयोगबाट पदपूर्ति गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको उनको भनाइ छ ।
कार्यक्रममा विगत २०७३ सालदेखि विनियमावली नहुँदा कर्मचारी पदपूर्ति हुन नसकेको र सार्वजनिक सेवामा समेत असर पुगिरहेको जानकारी दिइएको थियो । विनियमाली कार्यान्वयनमा आएसँगै रिक्त दरबन्दीमा कर्मचारी नियुक्तिको बाटो खुलेको छ ।
प्रतिक्रिया दिनुहोस्