काठमाडाैँ । औद्योगिक क्षेत्रमा १२ घण्टासम्म अघोषित लोडसेडिङ सुरू भएको उद्योगी व्यवसायीहरूले बताएका छन् ।आइतवार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल सिमेन्ट उत्पादक संघ, स्टिल उत्पादक संघ र नेपाल धागो उत्पादक संघले उद्योगहरूमा अघोषित लोडसेडिङ गरेर नेपाल विद्युत प्राधिकरण लोडसेडिङ नै छैन भन्ने झुटो र भ्रामक प्रचारबाजीमा लागिरहेको आरोप लगाएका हुन् ।
२४ सै घण्टा विद्युत आवश्यक पर्ने सिमेन्ट, स्टिलल र धागो उद्योगहरूमा अघोषित लोडसेडिङ भइरहेको उनीहरूको भनाइ छ । नेपाल विद्युत प्राधिकरणले दिउँसो विद्युत दिने गरेको भएपनि आधा समय मेसिनरी बन्द गर्न नमिल्ने उद्योगीहरूको जिकिर छ । यसरी दैनिक आधा समय मात्र चलाएका मेसिनरीहरु कवाडिमा परिणत हुने चिन्ता उनीहरूको छ ।
नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले झुटको खेती गरिरहेको आरोप लगाए । उनले नेपालको अर्थतन्त्र अचेत अवस्थामा रहेको र कुल गार्हस्थ्य उत्पादनमा समेत निरन्तर ह्रास आइरहेको अवस्थामा समेत औद्योगिक क्षेले पर्याप्त विद्युत नपाउनु दुःखद् भएको बताए । उनले प्राधिकरणकै पदाधिकारीहरूले महंगोमा विद्युत किने उद्योग जोगाउन नसक्ने खालको अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए ।
अम्बे ग्रुपका अध्यक्ष शोभाकर न्यौपानेले अघोषित रूपमा १२ घण्टा र घोषित रुपमा १२ घण्टा लोडसेडिङ हुँदा उद्योहरूले ठूलो नोक्सानी व्यहोर्नुपरेको बताए । उनले लोडसेडिङकै कारण मासिक ९ हजार टन वस्तुको उत्पादन गर्ने क्षमता भएको कम्पनीले ३ हजार सात सय ५० टन मात्रै उत्पादन गर्न सकेको बताए । उनले उद्योगी व्यवसायीहरू लाेडसेडिङकै कारणले प्रत्येक वस्तुमा १०÷१० रुपैयाँ मारमा रहेको बताए । उनले आवश्यकता जति विद्युत अपूर्ति नभएकै कारणले वस्तुको मूल्य बढाउन बाध्य भएको बताए ।
नेपाल विद्युत प्राधिकरणले बिना लोडसेडिङ विद्यतु आपूर्ति गरिदिनुपर्ने उनको माग छ । विद्युत आपूर्ति गर्न नसक्ने भए लोडसेडिङको तालिका प्रकाशन गरी पूर्वजानकारी दिनुपर्नेमा उद्योगीहरूको जोड छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षअध्यक्ष पशुपति मुरारकाले प्राधिकरणले लोडसेडिङ अन्त्य गरी डेडिकेटेड र ट्रंकलाइन महशुल विवाद टुंग्याउनुपर्ने बताए । उनले लोडसेडिङको बायोप्रोडक्ट भएको हिसाबले वस्तुको मूल्यमा वृद्धि भएको बताए । उद्योगहरूको वस्तु उत्पादनको क्षमतामा ह्रास आइरहेको उल्लेख गर्दै उनले लोडसेडिङ अन्त्य आजको प्रमुख आवश्यकता रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्