नेपाल पर्यटन बोर्डलाई टिएटीएफ चेन्नई २०२५ मा ‘सर्वोत्कृष्ट स्टल सजावट पुरस्कार’


काठमाडौँ । भारतको चेन्‍नईमा सम्पन्‍न ‘ट्राभल एण्ड टुरिज्म फेयर (टीटीएफ) चेन्नई-२०२५’ मा नेपाल पर्यटन बोर्डलाई ‘सर्वोत्कृष्ट स्टल सजावट पुरस्कार’ प्रदान गरिएको छ । भारतको चेन्नई ट्रेड सेन्टरमा मार्च २१ देखि २३ सम्म सम्पन्न ट्राभल एण्ड टुरिज्म फेयर चेन्नई २०२५ मा नेपाल पर्यटन बोर्डलाई ‘सर्वोत्कृष्ट स्टल सजावट पुरस्कार’ प्रदान गरिएको हो ।

नेपाल पर्यटन बोर्डले आफ्नो स्टलमार्फत पर्यटकहरुलाई नेपाल भ्रमणका लागि आकर्षित गर्न नेपालका विभिन्‍न पर्यटन उत्पादनहरु, पर्यटकीय गन्तव्य, प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन, धार्मिक यात्रा र सांस्कृतिक सम्पदाको आकर्षक प्रदर्शनमा राखेको थियो ।

नेपाल स्टलको भ्रमण गर्दै तमिलनाडुका पर्यटन मन्त्री थिरु आर राजेन्द्रले नेपाल र भारतबिचको बलियो पर्यटन सम्बन्ध रहेको र आगामी दिनमा पर्यटन सहकार्यलाई विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएका छन् । चेन्‍नईमा भएको टीटीएफ चेन्‍नई-२०२५ मा नेपाललाई दक्षिण भारतमा आफ्ना विविध यात्रा प्रस्तावहरू प्रवर्द्धन गर्न उत्कृष्ट प्लेटफर्म भएको बोर्डले जनाएको छ ।

नेपालको स्टलमा विभिन्‍न मुलुकका उत्साही यात्रुहरू, मिडिया प्रतिनिधिहरू, टुर अपरेटरहरू, व्यवसायिक प्रतिनिधिहरू र विद्यार्थीहरू गरी उल्लेखनीय संख्यामा आगन्तुकहरूले नेपाली प्रदर्शनी अवलोकन गरेको बोर्डका प्रतिनिधि कविन्द्र भट्टले जानकारी दिए ।

नेपाल पर्यटन बोर्डका अधिकारीहरू शिवराज पाण्डे र कविन्द्र भट्टले आन्ध्र प्रदेश पर्यटन, तमिलनाडु पर्यटन र केरल पर्यटन व्यवसायी तथा सरकारी अधिकारीहरूसँगको पर्यटन सहकार्यका विषयमा छलफल गरेका छन् । नेपाल र भारतबिचको बलियो सांस्कृतिक र पर्यटन सम्बन्धले यस्ता कार्यक्रमहरूलाई पर्यटन आदानप्रदान वृद्धि गर्न पुलको रूपमा काम गरेको भट्टले बताए।

सन् २०२४ मा हवाई मार्गबाट नेपाल आएका भारतीय पर्यटकहरूको संख्या ३ लाख १७ हजार ७७२ पुगेको छ, जुन नेपालमा कुल आगमनको करिब एक तिहाइ हो। यसबाहेक, करिब १५ लाखभन्दा बढी भारतीय पर्यटकहरू स्थलमार्गबाट नेपाल भ्रमण गर्ने अनुमान गरिएको छ ।

नेपाल पर्यटन बोर्डले आफ्नो पहुँच विस्तार गर्दै भारतीय पर्यटकहरूलाई नेपालको मनोरम भू-दृश्य, समृद्ध सांस्कृतिक सम्पदा र मैत्रीपूर्ण आतिथ्य अनुभव गराउन लागिरहेको जनाएको छ । ‘ट्राभल एण्ड टुरिज्म फेयर (टीटीएफ) चेन्नई-२०२५’ मा २५ वटा निजी क्षेत्रका ट्राभल एजेन्सीहरुले सहभागिता जनाएका थिए ।