सरकारले सकसमा परेको निर्माण व्यवसायको सम्बोधन गरेनः अध्यक्ष सिंह


काठमाडाैँ । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसाय सकसमा परेको बताएका छन् ।सोमवार नेपाली काँग्रेस पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित काँग्रेस निकट निर्माण व्यवसायीहरूको राष्ट्रिय भेलामा बोल्दै उनले समस्या समाधानका लागि नियमावली संशोधनका लागि सरकारलाई सुझाव दिएको तर त्यसको कुनै सुनुवाई नभएको बताएका हुन्।

उनले सरकारले निर्माण व्यवसायीको समस्या सम्बोधनका लागि पहल नगरेको गुनासो गरे । उनले व्यवसायीहरूसँग छलफलै नगरी सरकारले संशोधित नियमावली ल्याउन लागेकाले निर्माण व्यवसायीहरूको समस्या समाधान हुनेमा ढुक्क हुन नसकिने बताए । उनले सरकारले व्यवसायीहरूको साझा धारणा पहिल्याएर नियमावली संशोधन नगर्दा पटक पटक संशोधन गर्नुपर्ने अवस्था आएको आरोप लगाए ।

“निर्माण व्यवसाय सकसमा परेको छ  । हामी नेपाली काँग्रेससँग आवद्ध निर्माण व्यवसायीहरु अहिले हामीले नेपाली कांग्रेस सरकारमा सहभागिता भएपनि हामीले हाम्रा समस्याहरु सरकारसम्म पुर्‍याउनलाई हामीलाई अत्यन्त सकस छ । हामीले धेरै प्रयत्न गरेपनि हाम्रा अवाजहरु हाम्रा समस्याहरुलाई सरकारले सम्बोधन नगरी दिएको कारणले गर्दा र हाम्रो यो सार्वजनिक खरिद ऐन, नियम, एसबिडीलगायत निर्माण उद्योगमैत्री पूर्वाधारमैत्री नभएको कारणले गर्दा निर्माण उद्योग अत्यन्त संकटमा छ,”उनले भने ।

अध्यक्ष सिंहले अर्थतन्त्रलाई चलायमान बनाउने निर्माण व्यवसायी देशको समृद्धिको संवाहक भएको बताए । उनले केही उद्योगहरुले गरेको कार्टेलिङलाई सरकारले प्रोत्साहन गरेको आरोपसमेत लगाए ।