विप्लव नेतृत्वको नेकपाले एमसिसी रोक्न अमेरिकी राष्ट्रपति ट्रम्पलाई पत्राचार गर्ने


काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसी रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्राचार गर्ने भएको छ ।

नेकपाको एमसिसी सरोकार समितिले स्थगित गरेको एमसिसि परियोजनालाई पुनः निरन्तरता दिएकोप्रति गम्भीर आपत्ति जनाउदै अमेरिकी राष्ट्रपति ट्रम्पलाई पत्राचार गर्ने जनाएको हो ।

समितिका संयोजक तथा नेकपाका स्थायी समिति सदस्य भरत सीले आज एक वक्तब्य जारी गर्दै एमसिसिले फेरी निरन्तरता पाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै अमेरिकी राष्ट्रपतिलाई पत्राचार गर्ने जनाएका छन् ।

एमसिसी सम्बन्धमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको सरकारको ९० दिनको लागि स्थगन गर्ने निर्णय स्वागतयोग्य भएपनि पछिल्लो समय त्यसलाई निरन्तरता दिने भनी नेपाली समाचारपत्रहरुमा प्रकाशित समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्ल्लेख छ ।

जारी वक्तव्यमा भनिएको छ,“हामी यथास्थितिमा एमसीसी लागु नगर्न र नयाँ राष्ट्रिय सहमति कायम गरि नेपालको संविधान–कानुन मातहत रहने सुनिश्चितता गरेर मात्रै अघि बढ्न नेपाल सरकार र सम्बन्धित पक्षसंग हार्दिक अनुरोध गर्दछौ । अन्यथा नयाँ स्तरको जनआन्दोलनद्वारा एमसिसी र त्यसका पक्षधरहरु बढारिनेछन् ।”