ट्रंकलाइन र डेडिकेटेड लाइनको महशुल उठाउन नदिन कुलमानलाई वर्खास्त गरियोः सांसद ढकाल


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणबिच सेटिङ मिलाउन नसकेको कारण कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको आरोप लगाएका छन् ।

बुधवार संघीय संसद परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग उनले सरकारको उद्देश्य ट्रंकलाइन र डेडिकेटेड लाइनको महसुल उठाउन नदिनु रहेको बताए । 

उनले भने, “मन्त्रालयमा सेटिङ नमिलेको हो नि । उहाँको कार्यसम्पादनमाथि प्रश्न उठाइयो । उहाँकै कार्यकालमा हैन प्राधिकरणले १२ अर्ब रुपैयाँ फाइदा कमाएको ? प्रधानमन्त्री हुनेबित्तिकै ट्रंकलाइन र डेडिकेटेड लाइनको पैसा नतिरे पनि उद्योगको लाइन जोड्नु कसले भनेको ? कुलमानले लाइन काट्ने बित्तिकै हतार हतार जोड भनेको कसले ? सरकारको सेटिङ ट्रंकलाइन र डेडिकेटेड लाइनको पैसा नउठाउनको लागि हो, हेर्दै जानुहोला ।”

घिसिङकै कार्यकालमा प्राधिकरणले १२ अर्ब रुपैयाँ नाफा कमाएको भएपनि सरकारले कायरतापूर्वक पदमुक्त गरेको उल्लेख गर्दै आफ्नो र आफ्नो पार्टीको लागि यो निर्णय स्वीकार्य नहुने उनको भनाइ छ ।