काठमाडाैँ । नेपाल टेलिकमले २०८१ सालको एसईई परीक्षामा सहभागी परीक्षार्थीहरुका लागि ‘एसईई अफर २०८१’ उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका परीक्षार्थीहरुलाई रु. २० मा सिमकार्ड उपलब्ध गराउने छ भने त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध हुने जनाइएकाे छ । टेलिकमका अनुसार एसईई अफर तथा बोनस अन रिचार्ज २०८१ चैत १५ देखि २०८२ असार ३० गतेसम्म उपलब्ध हुने छ ।
उक्त सिमकार्ड नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट उपलब्ध हुनेछ । सिमकार्ड एक्टिभेट गरिसकेपछि ३० दिनसम्मका लागि विभिन्न अफरहरु उपलब्ध हुने उल्लेख गरिएकाे छ । पहिलेदेखि नै नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्ने परीक्षार्थीका लागि समेत सोही सिमकार्डमा अफरहरु उपभोग गर्न सकिने व्यवस्था गरेकाे कम्पनीले जनाएकाे छ ।
नयाँ सिम प्राप्त गरेका परीक्षार्थीहरुले सिमकार्डमा मेन व्यालेन्सको रुपमा उपलब्ध हुने रु. ९.८० बाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् । यसका अतिरिक्त ३० दिन सम्मका लागि प्रतिदिन नेपाल टेलिकमको नेटवर्कभित्र कुराकानी गर्न २० मिनेट अन-नेट भ्वाइस सेवा, १० वटा अन-नेट एसएमएस र ५०० एमबी डाटा समेत अफर अन्तर्गत उपलब्ध हुनेछ भने प्रत्येक दिन प्राप्त हुने resource सोही दिनका लागि मात्र कायम रहने जनाइएकाे छ ।
नयाँ सिम प्राप्त गर्नका लागि परीक्षार्थीले एसईईको प्रवेश पत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका सरकारी परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्ने उल्लेख गरिएकाे छ । साथै सिमकार्ड एक्टिभ गर्नका लागि स्वयंले *१४१४# डायल गर्नुपर्ने र सो पश्चात् अफर प्राप्त गर्नका लागि *१६००# डायल गरी निर्देशन फलाे गर्नुपर्ने उल्लेख गरिएकाे छ ।
कम्पनीका अनुसार यस अफर अन्तर्गत उपलब्ध हुने बोनस अन रिचार्जमा रु. ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल गर्न र ५० वटा अन-नेट एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ । रिचार्जमा प्राप्त हुने बोनस प्राप्त भएको तीन दिनभित्र प्रयोग गरिसक्नु पर्दछ ।
प्रतिक्रिया दिनुहोस्