काठमाडाैँ । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । बिहीवार राष्ट्रिय सभा बैठकको कारबाही सुरू गर्न खोज्दा विपक्षीहरूले अवरोध गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले बैठक एक घण्टापछि बस्ने गरी स्थगित गरेका छन्।
विपक्षीहरू उठेर विरोध गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले नेकपा (एकीकृत समाजवादी) का सांसद डा. वेदुराम भुसाललाई बोल्न समय दिएका थिए । डा. भुसालले कुलमान घिसिङलाई सरकारले गरेको पदमुक्तको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा आएर जवाफ नदिएसम्म बैठक सञ्चालन गर्न नदिने अडान लिए ।
अवरोधका बिच अध्यक्ष दाहालले नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलालाई बोल्न समय दिए। सांसद सिटौलाले सरकारले ल्याएको विधेयक ६० दिन भित्र प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता भएकाले बैठक सुचारु गर्न आग्रह गरे । उनले विपक्षीहरुले ६० दिनको समय सीमा कटाउनका लागि अवरोध सिर्जना गरेको आरोप लगाए ।
पटक पटक आशन ग्रहण गरेर बैठक सुचारु गर्न आग्रह गरेपनि विपक्षी सांसदहरूले अवरोध कायमै राखेपछि अध्यक्ष दाहालले बैठक एक घण्टाका लागि स्थगित भएको घोषणा गरे ।
प्रतिक्रिया दिनुहोस्