कार्यवाहक प्रधानमन्त्री बनेको चार दिनमै विराजभक्तको मर्यादाक्रम घटुवा,कानुनमन्त्री गौतम तेस्रोमा


काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन्।

राष्ट्रपतिको कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम सातौँ वरीयताबाट एकैपटक तेस्रो मर्यादाक्रममा पुगेकी छन्। गौतम तेस्रो मर्यादाक्रममा पुगेपछि परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको मर्यादाक्रम एक–एक स्थान तल झरेको छ।

नयाँ मर्यादाक्रममा प्रधानमन्त्री शाहपछि दोस्रो स्थानमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले यथावत् छन् भने तेस्रो स्थानमा रहेकी गौतमपछि परराष्ट्रमन्त्री खनाल चौथो स्थानमा पुगेका छन्।

गत मङ्सिर ६ गते प्रधानमन्त्री शाह, अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका ऊर्जामन्त्री श्रेष्ठ कार्यवाहक बनेको चार दिनमै चौथोबाट पाँचौँ स्थानमा झरेका छन्। गृहमन्त्री गुरुङ पाँचौँबाट छैटौँ र पूर्वाधार विकासमन्त्री लम्साल छैटौँबाट सातौँ वरीयतामा पुगेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएकी गौतम पार्टीको साङ्गठनिक मर्यादामा चाैथाे र सरकारमा सहभागि नेतामा तेस्राे वरियतामा रहेकाले सरकारको वरीयतामा पनि सोहीअनुसार समायोजन मिलाइएको आँकलन गरिएको छ।

संवैधानिक रूपमा मन्त्रीहरूको मर्यादाक्रम निर्धारण गर्नु प्रधानमन्त्रीको विशेषाधिकार भए पनि हालै कार्यवाहक प्रधानमन्त्रीको भूमिका निर्वाह गरिसकेका श्रेष्ठको चार दिनमै वरीयता घटुवा हुनुलाई राजनीतिक र नैतिक दृष्टिले अर्थपूर्ण मानिएको छ।

यस हेरफेरसँगै आगामी दिनमा प्रधानमन्त्री र अर्थमन्त्री देशबाहिर रहँदा कार्यवाहक प्रधानमन्त्री बन्ने रोलक्रममा समेत गौतम अगाडि आएकी छन्।

नयाँ मर्यादाक्रमको आठौँ स्थानदेखि सत्रौँ स्थानसम्मका मन्त्रीहरूको वरीयता भने यथावत् राखिएको छ। जसअनुसार आठौँमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन, नवौँमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी, दसौँमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल छन्। यस्तै एघारौँमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता छन्।

त्यस्तै, बाह्रौँमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, तेह्रौँमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल, चौधौँमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, पन्ध्रौँमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी, सोह्रौँमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिपक कुमार साह र सत्रौँ वरीयतामा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव रहेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।