काठमाडौँ । नेपाल राष्ट्र बैंकले ‘डिजिटल फाइनान्स इन्नोभेसन हब’को स्थापना गरेको छ । नवप्रवर्तकहरुलाई विभिन्न जानकारी दिने उदेश्यले ‘डिजिटल फाइनान्स इन्नोभेसन हब’ स्थापना गरिएको जनाइएको छ ।
नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक किरण पण्डितले नवप्रवर्तकहरुलाई आइडिया दिने अथवा सहि बाटो देखाउन इन्नोभेसन हब स्थापना गरेकाे बताए ।
“कसैलाई केहि नयाँ सोच आएको तर कसलाई सोध्ने थाहा नहुने भएकोले नियामकको पहुँच पुर्याउन हामीले यो कमिटि बनाएको हौं । यस्तो कमिटिलाई इन्नोभेसन हब भनिँदो रहेछ । यसमा राष्ट्र बैंकभित्रका विभागहरु र निजी क्षेत्रका व्यक्तिहरुलाई पनि बोलाएर आफ्नो आइडिया राख्न आफैँ कमिटिमा आउनुहुन्छ । उहाँहरुले यस्तो बनाउन लागेको भनेर यो कमिटिलाई प्रस्तुत गर्नुहुन्छ,” उनले भने, “यो कमिटिले यस्तो गर्नुस्, अहिलेको प्रावधान अनुसार यहाँ सच्याउनुस्, यहाँ जोखिम भएका कारण यसरी न्युनिकरण गर्न सकिन्छ, यसलाई यसरी सच्याएर ल्याउनुस् अथवा राम्रो भए अगाडी बढ्नुुस् भनेर सहि बाटो देखाउने काम यो कमिटिले गर्छ ।”
यसले नवप्रवर्तकहरुलाई विद्यमान नीतिगत एवम् नियामकीय व्यवस्थाबारे जानकारी गराउने, सरोकारवालाबाट प्राप्त हुने वित्तीय क्षेत्रका नवप्रवर्तनकारी प्रस्ताव र तिनले ल्याउन सक्ने अवसर एवम् चुनौतीको विश्लेषण गर्दै नियामकीय दृष्टिकोण, नन बाइन्डिङ गाइडेन्स, परामर्श एवम् सुझाव प्रदान गर्ने जनाएको छ ।
यसमा निजी क्षेत्रको पनि सहभागिता हुने सूचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्