आगामी आर्थिक वर्षका लागि कृषिको नीति तथा कार्यक्रमबारे छलफल


काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आगामी आर्थिक वर्षका लागि मन्त्रालयले अघि सारेका नीति, कार्यक्रम तथा बजेट तर्जुमा सम्बन्धी विषयमा धादिङ जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूसँग छलफल गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा बिहीबार आयोजित छलफलमा जिल्लाका दुई नगरपालिका र ११ वटा गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरू सहभागी थिए । छलफलमा मन्त्रालयका सचिवद्वय डा. गोविन्द प्रसाद शर्मा, डा. राजेन्द्र प्रसाद मिश्र लगायतका अधिकारीहरूको उपस्थिति थियो ।

छलफलका क्रममा मन्त्री अधिकारीले कृषिको विकासका लागि स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै नीति तथा कार्यक्रम तय गर्दा सरोकारवालाहरूको सुझावलाई प्राथमिकता दिइने बताए । “स्थानीय तहबाट प्राप्त सुझावलाई मन्त्रालयले ग्रहण गर्नेछ । आगामी बजेटमा कृषि क्षेत्रमा अघि सारिने कार्यक्रमहरू उत्कृष्ट बनाउन प्रयत्न गरिनेछ,”उनले भने ।

मन्त्रालयले यही विषयमा काठमाडौँ उपत्यकाभित्रका पालिकाका प्रमुख तथा उपप्रमुखहरूसँग शुक्रबार छलफल आयोजना गर्ने जनाएको छ । मन्त्री अधिकारीका अनुसार आगामी वर्षका कार्यक्रम र प्राथमिकतालाई स्थानीय सरकारले अपनत्व लिन सक्ने वातावरण बनाउन पहल गरिनेछ ।