अमेरिका पुर्‍याइएका २१ वटा पुरातात्विक सम्पत्ति नेपाल फिर्ता


काठमाडाैँ । नेपालबाट चोरी गरी अमेरिका पुर्‍याइएका २१ वटा पुरातात्विक महत्वका कलात्मक वस्तुहरू नेपाल फिर्ता ल्याइएको छ । 

आइतवार बिहान पुरातत्व विभागले मूर्तिहरूलाई सम्बन्धन्धित स्थानीय तहलाई हस्तान्तरण गरेको हो । यीमध्ये तीनवटा पौवा चित्रहरु (१५–१८ औं शताब्दी)का रहेका छन् । यी पौवा चित्रहरू काठमाडौँस्थित इटुम्बहालबाट वि सि. २०३७ सालमा हराएका थिए भने एउटा प्रस्तरबाट निर्मित स्थानक बुद्धको मूर्ति (९ औं शताब्दी) बुङमतिको मच्छिन्द्रबहाल परिसरको चैत्यबाट हराएको थियो ।

साथै आर्ट इन्स्टिच्युट शिकागोबाट फिर्ता भएको पाटनको गुइत टोलको गुइत चैत्यको प्रस्तरको मुद्धलिन्द बुद्धको मूर्ति बान –१ (१२-१३ औँ शताब्दी) तथा अन्य १६ थान कलात्मक वस्तुहरु (९–१९औं शताब्दी) पनि नेपालका विभिन्न ठाउँबाट हराएर अमेरिका पुगेका थिए ।

कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाली सम्पदाहरु संसारको कुनैपनि कुनामा पुगेपनि नेपाली सम्पदाको महत्वलाई बुझेर सम्पदा फर्काउने योग्यता राख्ने बताए । अब नेपालबाट मूर्तिहरू चोर्ने कुचेष्ठा गर्न नसक्ने बताउनु भयो । विगतमा गएका चिजहरु अहिले फर्किनु पनि सकारात्मक रहेको जिकिर गरे ।

विगतमा यस्ता किसिमका सम्पतीहरु कसरी गए ? भन्दै प्रश्न गरे । अब दुराचार गर्ने समय नरहेकाले चोरी हुन नसक्ने बताए । मूर्तिहरु प्रतिष्थापनका लागि आफूहरू प्रतिवद्ध रहेको र आर्थिक अवस्थाको चिन्ता नगर्न आग्रह गरे । स्थानीय सरकारहरू आफ्नो आस्था जोगाउन अब सक्षम रहेको जिकिर गरे ।

अहिलेसम्म बेलायत, अष्ट्रिया, अमेरिका, चीन, (तिब्बत), भारत, जर्मनी, अष्ट्रेलिया र इटलीबाट जम्मा १७७ थान पुरातात्विक महत्वका मूर्तिहरु तथा कलात्मक वस्तुहरु विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्ति तथा संघ संस्थाहरुको प्रयासबाट फिर्ता भइसकेका छन् ।

अमेरिका, फ्रान्स, बेलायत, चीन, अष्ट्रिया, अष्ट्रेलियाजस्ता देशहरुबाट थप अरु केही कलात्मक वस्तुहरू फिर्ताको लागि कुटनीतिक पहल भइरहेको छ । संयुक्त राज्य अमेरिकाबाट मात्र नेपालमा फिर्ता भएका पुरातात्विक महत्व भएका वस्तुहरुको संख्या १०४ पुगेको छ ।