राष्ट्र बैंक र नाफिजको सहकार्यमा दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न


काठमाडौँ । नेपाल राष्ट्र बैंक र नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को सहकार्यमा आयोजित दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । दुई दिने प्रशिक्षण कार्यक्रम सोमबार राष्ट्र बैंकका मानव संसाधन व्यवस्थापन विभाग कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रमको समापन समारोहमा बोल्दै कार्यकारी निर्देशक घिमिरेले वित्तीय क्षेत्र नागरिकको विश्वाससँग जोडिएको बताए । “अन्य क्षेत्रभन्दा वित्तीय क्षेत्र बढी संवेदनशील भएकाले नागरिकको विश्वाससँग जोडिएले सही सूचना सम्प्रेषमा जोड दिनुपर्छ,” उनले भने ।

आर्थिक पत्रकारको क्षमता अभिवृद्धिमा राष्ट्र बैंक प्रतिवद्ध रहेको र यस्ता कार्यक्रमले आर्थिक पत्रकारको क्षमता वृद्धिसँगै सहि सुचना प्रवाहमा महत्वपूर्ण योगदान पुग्ने उनको विश्वास छ ।

राष्ट्र बैंकको थापाथली कार्यालयमा चैत १७ र १८ गते सञ्चालन सो कार्यक्रममा प्रशिक्षकहरूले ६ वटा फरक/फरक सत्रमा प्रशिक्षण दिएका थिए । जसमा राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभाग प्रमुख तथा कार्यकारी निर्देशक गुणाकर भट्टले माइक्रोइकानोमिक एकाउन्ट, माइक्रोइकानोमिक एकाउन्टको अन्तरसम्बन्ध, नेपालको वित्तीय संरचना तथा स्थिति र माइक्रो इकोनोमीकका प्रमुख सूचकका विषयमा केन्द्रीत रहेर प्रस्तुति दिए ।

यस्तै पहिलो दिनको दोस्रो सत्रमा राष्ट्र बैंकका उपनिर्देशक मणिराज श्रेष्ठले विदेशी विनिमयको कानुनी तथा नियामकिय फ्रेमवर्क, लाइसेन्सीङ प्रणाली, वैदेशिक लगानी र कर्जाका विषयमा प्रस्तुति दिए भने तेस्रो सत्रमा राष्ट्र बैंकका निर्देशक सत्येन्द्रराज सुवेदीले मनिटरी (मौद्रिक) क्षेत्रको तथ्यांक स्रोत, मौद्रिक सूचकहरूको विश्लेषण, मनि डिमान्ड, सप्लाई र क्रेडिट, बैंक डिपोजिट, लिक्विडटी पोजिसन लगायतका विषयमा प्रस्तुति दिए ।

कार्यक्रमको दोस्रो दिन (सोमबार) को पहिलो सत्रमा राष्ट्र बैंकका निर्देशक माधव दंगालले मनिटरी पोलिसी फ्रेमवर्क, नेपालको मनिटरी पोलिसी र मनिटरी म्यानेजमेन्ट, दोस्रो सत्रमा उपनिर्देशक बिरेन्द्रबहादुर बुढाले अर्थतन्त्रको बाह्य क्षेत्र, नेपालको बाह्य अर्थतन्त्रको पर्फमेन्स, बाह्य आर्थिक सूचकको तथ्यांक, व्याख्या, ब्यालेन्स अफ पेमेन्टका विषयमा चर्चा गरेका थिए । यस्तै, तेस्रो तथा अन्तिम सत्रमा भने राष्ट्र बैंकका कामु निर्देशक सुमन न्यौपानेले मुद्रास्फितीका विषयमा आफ्नो प्रस्तुतिकरण दिए ।

कार्यक्रमको समापन सत्रमा बोल्दै नाफिजका निवर्तमान अध्यक्ष मोदनाथ ढकालले राष्ट्र बैंकसँग नाफिजले गरेको प्रशिक्षण कार्यक्रमले पत्रकारहरूको क्षमता विकासमा सहयोग पुगेको बताए । उनले केन्द्रीय बैंकले अग्रसर भएर दिएको प्रशिक्षण कार्यक्रमका लागि उनले धन्यवाद समेत ज्ञापन गरे ।

दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका हुन् ।