काठमाडौँ । देशभरका किसान यतिबेला रासायनिक मलको चरम अभावसँग जुधिरहेका बेला अखिल नेपाल किसान महासंघले चिन्ता व्यक्त गर्दै सरकारसँग तत्काल प्रभावकारी कदम चाल्न माग गरेको छ।
महासंघले आज एक प्रेस विज्ञप्ति जारी गर्दै मल अभावका कारण किसानको जिविकोपार्जनमा प्रत्यक्ष असर परिरहेको भन्दै यो समस्यालाई दीगो रूपमा समाधान गर्न आग्रह गरेको छ।
महासंघका अध्यक्ष प्रेम दंगालले यस वर्षको चैते धान, मकै लगायतका व्यवसायिक बाली मल नपाएर प्रभावित भइरहेका बताए ।
सरकारले मल खरिदका लागि केही रकम छुट्याए पनि वितरण प्रणालीमा भएको लापरबाही र समन्वयको अभावले किसानहरू मल पाउन नसकेको महासंघको आरोप छ। युरिया र पोटास मलको अभाव विशेष गरी गम्भीर रहेको किसानहरूले बताउँदै आएका छन्। नियमित रूपमा आवश्यक पर्ने मलसमेत सहज रूपमा नपाउनु सरकारले कृषि क्षेत्रप्रति देखाएको हेलचक्रैयाँपन हो भन्ने महासंघको आरोप छ।
“नेपाल सरकार र सम्बन्धित निकायहरूले मल अभाव समाधानका लागि तत्काल आपूर्ति प्रणाली सुदृढ बनाउँदै दीगो समाधानका लागि ठोस नीति ल्याउनुपर्छ,” विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्